गौरीका सद्भावनादूत

काठमाडौं, जेठ २६  ।

 

शान्ति शिक्षा अभियान नेपालले कीर्तिमानी पौडी खेलाडी गौरीका सिंहलाई सद्भावनादूतमा मंगलबार नियुक्त गरेको छ ।

गौरीकाले गत वैशाखमा गएको भूकम्पले क्षतिग्रस्त बनाएको सामुदायिक विद्यालयहरुको पुनर्निर्माणका लागि संस्थाले सुरु गरेको कार्यमा सघाउने अभियानका अध्यक्ष रविन्द्र महर्जनले जानकारी गराए ।

त्यसै अवसरमा गौरीकाले सोमबार सम्पन्न २० औं राष्ट्रिय खुला पौडी प्रतियोगितामा ६ कीर्तिमान बनाए वापत पुरस्कार स्वरुप पाएको ३० हजार भूकम्प पीडितका लागि प्रदान गर्ने जानकारी दिइयो । त्यो रकममा गौरीकाका अभिभावकले पनि त्यत्तिनै रकम थप गरी जम्मा ६० हजार भूकम्प पीडितका लागि प्रदान गरिने बताइएको छ ।

gaurikasingh

गौरीका छनोट 

सोही कार्यक्रममा नेपाल पौडी संघका अध्यक्ष अशोक वज्राचार्य रुसको कजानमा हुने १६ औं फिना विश्व पौडी च्याम्पियनसिपका लागि गौरीका सिंह छनोट भएको जानकारी गराए । जुलाई २८ देखि अगष्ट ८ तारिखसम्म हुने उक्त च्याम्पियनसिप रियो ओलम्पिक– २०१६ का लागि खेलाडी छनोटका रुपमा समेत रहेको छ ।

पौडी संघका अनुसार किरण कार्की पनि सोही च्याम्पियनसिपका लागि छानिएका छन् । सोमबार सम्पन्न २० औं राष्ट्रिय खुला पौडी प्रतियोगितामा गौरीका र किरणले गरेको प्रदर्शनका आधार छनोट गरिएको हो । नेपालबाट चार खेलाडी सहभागी हुने फिना च्याम्पियनसिपलाई शिरीष गुरुङ र सोफिया शाह यसअघि नै छनोट भइसकेका छन् । शिरीष र सोफिया हाल वैदेशिक प्रशिक्षणका लागि थाइल्यान्डको बैंककमा छन् ।