मुना टिप्न नपाउँदा रु दश करोड नोक्सान

ललितपुर, जेष्ठ ११

कृषकहरूले समयमा चिया बगानबाट मुना टिप्न नपाउँदा रु १० करोड बराबरको आर्थिक भार व्यहोर्नु पर्ने भएको छ । ललितपुरका दुर्गम क्षेत्र चन्दनपुर, कालेश्वर, मानिखेल, बुखेल, घुसेल, चौघरे, इकुडोल, गोटीखेल र शङ्खु गाविसमा रोपिएका अर्गानिक चियाको मुना भूकम्पका कारण समयमा टिप्न नपाइएको हो । अधिकांश चिया कृषकहरूको घरगोठ भूकम्पले भत्काएका कारण पुनःनिर्माणतिर लाग्नु परेकाले समस्या आएको चिया उत्पादक सहकारी सङ्घका अध्यक्ष ऋषिराम घिमिरेले बताए ।

उक्त क्षेत्रमा करिब एक हजारभन्दा बढी रोपनी जग्गामा चियाखेती गरिएको जनाइएको छ । संघमा १६७ कृषक संस्था आबद्ध रहेका छन् । भूकम्पका कारण कृषकले चिया बगानमा रहेका मुना टिप्न नसकिएको उनको भनाइ छ । वार्षिक प्रतिरोपनी एक हजार २०० किलो हरियो मुना उत्पादन हुने गरेको छ ।

मुनाको प्रतिकिलो रु १०० का दरले वार्षिक रु एक लाख २० हजार बराबर थप आर्थिक भार कृषकले व्यहोर्नु पर्ने निश्चित भएको छ । एक रोपनी बराबर रु एक लाख २० हजारका दरले एक हजार रोपनीमा करिब रु १० करोड बराबरको नोक्सान हुनसक्ने अनुमान गरिएको छ ।