मलेशियामा नेपाली कामदारमाथि चरम शोषण

काठमाडौ, वैशाख ४ गते । पूर्व उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले मलेशिया जाने नेपालीहरुरुमाथि चरम शोषण हुनेगरेको बताउनुभएको छ । दुई हप्ताअघि मलेशियाको तीन दिने भ्रमण सकेर फर्किनुभएको श्रेष्ठले विहिबार आफ्नै निवासमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै श्रमिकहरुमाथि नेपाल र मलेशिया दुबै ठाऊँमा शोषण हुने गरेको बताउनुभएको हो ।

श्रेष्ठले मलेसियामा रहेका नेपालीहरुसँगको छलफल तथा कामदारहरु रहने विभिन्न स्थानमा गएर अध्ययन गर्दा कतिपयले न्यूनतम मानवअधिकारको उपभोग गर्नसमेत नभएको स्थिति देखेको बताउनुभयो । मलेशिया जाने नेपालीरुमाथि शूल्क लिने क्रमदेखि नै चरम शोषण हुने गरेको उल्लेख गर्दै उहाँले भन्नुभयो– सरकारले ८० हजार रुपैयाँको सीमा तोकेको छ । तर म्यानपावर ऐजेन्सीहरुले १ लाख ६० हजारसम्म असुल्ने गरेको पाईएको छ । समान्यत अहिले विश्वभर अर्को देशमा कामदार पठाऊँदा शून्य शुल्क रहने अभ्यास भइरहेको छ । यस्तो अवस्थामा नेपाली कामदारमाथि भएको यो चरम शोषण हो ।’

उहाँले नेपालीहरुमाथि विभिन्न बहानामा लिईने अतिरिक्त शुल्क र कम्पनी मालिकहरुले समेत शोषण गरिरहेको बताउनुभयो । ‘मलेशिया सरकारले नेपालीहरुको भिसा शुल्क ७ सय रुपैयाँ राखेको छ । तर भिसा प्रोसेसिङको आउटसोर्सिङ शुल्क ३२ सय रुपैयाँ लिने गरेको छ,’ आउटसोर्सिङका लागि लिईने शुल्क अर्थहिन भएको विश्लेषण गर्दै उहाँले भन्नुभयो, ‘यो चकलेटको ७ सय र चकलेटको बोक्राको ३२ सय भनेजस्तो भयो । यो अतिरिक्त शुल्क साह्रै अन्यायपूर्ण छ । ’