श्रीमतीद्वारा श्रीमानको हत्या

धादिङ, वैशाख ७ गते । मादक पदार्थ सेवन गर्दागर्दै श्रीमान र श्रीमतीबीचको भएको झगडामा श्रीमानको मृत्यु भएको छ ।

नीलकण्ठ नगरपालिका वडा नं. १ निवासी ४५ वर्षीय कृष्ण परियारको मृत्यु आफ्नै श्रीमती दुर्गा परियारको प्रहारबाट भएको छ । उहाँकी श्रीमतीले उहाँलाई ढोकामा लगाउने आग्लोले प्रहार गरेकी थिइन् ।

मादक पदार्थ सेवन गरिरहँदा तिनघरेस्थित एक किराना पसलमा श्रीमान श्रीमतीबीच विवाद भएपछि टाउकोमा आग्लो प्रहार गर्दा श्रीमान कृष्णको मृत्यु भएको हो ।

रक्सीको मातमा रहेका श्रीमती दुर्गा र श्रीमान कृष्णबीच पैसाको निहुँमा आपसी विवाद बढ्दै जाँदा आपसमा धकेलाधकेल हुँदाहुँदै श्रीमती दुर्गाले श्रीमानको टाउकोमा आग्लो प्रहार गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।

टाउकोमा गम्भीर चोट लागेर घाइते भएका कृष्ण परियारलाई उपचारका लागि सदरमुकाम धादिङवेसी ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ ।

श्रीमती दुर्गा परियारलाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको प्रहरीले जानकारी दिएको छ ।