कागतीको प्रयोगबाट क्यान्सर, डण्डीफोर, चायाँपोतोको छुटकारा

खबरडेस्क,२६ चैत ।
कागती अमिलो जातको फल हो। यसको बोक्रा, रस एवम् बियाँ तथा पात समेत विभिन्न रोगको उपचारमा प्रयोग हुने गर्दछ। यसको रस, पात र बोक्रालाई ताजा रुपमा प्रयोग गर्न सकिन्छ भने बोक्रा र पातलाई सुकाएर एवम् रसलाई पकाएर अमिलो तयार गरी चुकको रुपमा पनि प्रयोग गर्न सकिन्छ।
lemon-nepal

-कागतीका विशेष गुण
कागती अमिलो खालको फल भएपनि यो क्षारप्रधान र पित्तशामक गुणको हुन्छ। कागतीमा रक्त शोधक, मुत्रकारक, पसिना निस्कासक, ज्वर निवारक, रेचक आदि गुण पनि रहेको हुन्छ। कागतीमा भिटामीन सी प्रशस्त हुन्छ। यसको प्रयोगबाट रक्तनली सफा हुन्छ। यो पाचक गुणले पनि पूर्ण छ। कागतीको रस सर्दी एवम् गर्मी दुवै प्रकृतिको हुन्छ। गर्मीमा चिसो पानीका साथमा यसको रस प्रयोग गरेमा शीतलता प्राप्त हुन्छ भने तातो पानीसंगै पिएमा यसको शीत्तल गुण उष्णतामा परिणत हुन्छ। कुनकुन रोगको उपचारमा यसको प्रयोग गरिन्छ ? जानौँ यसका फाइदाहरु

-डण्डीफोर र अनुहारको पोतोः
कागतीको टुक्रालाई दिनहुँ डण्डीफोरमा सुत्नु अघि रगड्ने, रातभरि त्यसै राखेर बिहान उठेर धुने गर्दा डण्डीफोर र अनुहारको पोतोमा सुधार हुन्छ। गहुँको पिठो वा बेसन वा मुल्तानी माटोमा कागतीको रस मिसाई दिनहुँ अनुहारमा लेपन गरी आधादेखि एक घण्टा बस्ने र पखाल्ने गर्दा डण्डीफोर र अनुहारको पोतोमा पनि लाभ गर्दछ।

कागती र मह बराबर मिश्रित गरी अनुहारमा लेपन गर्ने र २०-३० मिनेटपछि कपासले रगडेर अनुहारमा मालिश गर्दा अनु्हारको चाँयामा सुधार हुन्छ।

-कपालमा चाँया पर्ने
कागतीको रस एवम् पानी मिसाई रौंको जरासम्म पुग्ने गरी रगड्ने र केही बेरपछि पखाल्ने। हप्तामा २÷३ पटक यसो गर्दा कपालको चाँया हट्दछ।

-क्यान्सरवाट बच्न
नियमित रूपमा दैनिक भोजनमा केही मात्रामा कागतीको प्रयोग गरी खाँदा क्यान्सरको समस्या हुनबाट बच्न सकिने अध्ययनले देखाएको छ।

-उच्च रक्तचाप र हृदय रोग
दिनहुँ पानीमा मिसाई वा दालमा मिसाई आधादेखि एउटासम्म कागती खाने गर्दा रक्तचापमा फाइदा गर्दछ साथै हृदय रोगमा पनि लाभ गर्दछ।

-कब्जियत
दिसा कडा हुने र सफा नहुने समस्या छ भने दिनको एउटा कागतीलाई ४-५ लिटर पानीमा मिसाई पटक–पटक गरेर पिउने गर्दा कब्जियत हट्न सहयोग गर्दछ।

-चिलाउने समस्या
छाला चिलाउनेसम्बन्धी समस्यामा कागतीको टुक्राले रगड्दै १÷२ दिनको फरक पारी नुहाउने, सफा गर्ने गर्दा फाइदा हुन्छ।

-बान्ता एवम् वाकवाकीमा
बान्ता भइरहेमा एवम् वाकवाकी लागेमा कागती काटेर चुस्ने गर्दा रोकिन सहयोग मिल्दछ।

-रक्सीको नशा हटाउन
कसैलाई रक्सी खाएर बढी नशा लागेको छ भने कागतीको टुक्रा चुसाउने वा कागती पानीको सर्बत खुवाउने गर्दा रक्सीको मात हराउँछ।

-लू चलेमा
गर्मीमा तातो हावा चल्ने भै लूको प्रकोप भएमा कागती पानीको चिसो सर्बत बारम्बार पिउँदा त्यसको असर हुँदैन।