प्रहरीले नै गरे बालिकामाथि बलात्कार

काभ्रेपलाञ्चोक, चैत ३० गते । बालिका बलात्कार गरेको आरोपमा पक्राउ परेका प्रहरीलाई जिल्ला प्रहरी कार्यालय काभ्रेले मुद्दा चलाएको छ ।

सिविन बालिका शान्तिगृहबाट भागेका १५ र १७ वर्षीया किशोरीलाई प्रहरी हवल्दार शम्भु राउत अहिर र प्रहरी जवान श्रीराम साहले पनौती बसपार्क नजिकको खेतमा लगेर बलात्कार गरेका थिए । चैत २५ गते राती १० बजे पनौती बसपार्कमा भागेर आएका बालिकालाई प्रहरीहरूले जबरजस्ती धम्काएर करणी गरेका थिए ।

हवल्दार राउत र जवान साहलाई शुक्रबार पक्राउ गरी बैशाख ३ सम्मका लागि म्याद थप गरिएको छ ।

बालगृहको निवेदनका आधारमा डिएसपी राजकुमार केसीको नेतृत्वको टोलीले अनुसन्धान थालेको थियो ।

सुधारगृहमा आमाबाबु नभएका, असहाय र हिंसामा परेको स्थलबाट उद्धार गरिएका किशोरी र बालिका राखिन्छ । त्यस दिन सिविनको शान्तिगृहबाट तीन किशोरी भागेका थिए ।

मुलुकी ऐन जबरजस्ती करणीको महल अनुसार १४ वर्षदेखि १६ वर्षसम्मका किशोरीलाई बलात्कार गरेमा छ वर्षदेखि १० वर्ष र १६ वर्षदेखि २० वर्षसम्मका युवतीलाई बलत्कार गरे पाँच वर्षदेखि आठ वर्षसम्म कैद सजाय तोकिएको छ ।

जिल्ला प्रहरी प्रमुख एसपी पूजा सिंहले बलात्कार जस्तो जघन्य अपराधमा संलग्न जोकोही पनि कडाभन्दा कडा कार्वाही गर्ने बताउनुभयो ।