सिरहामा दलाल बिना कुनै काम हुँदैन

सुखीपुर (सिरहा), वैशाख १० गते । सिरहामा दलाल बिना कुनै सरकारी कार्यालयमा काम हुने गरेको छैन ।

सिरहाका सगरमाथा यातायात कार्यालय, मालपोत कार्यालय, नापी कार्यालय, जिल्ला विकास समिति तथा जिल्लाकै प्रमुख बस्ने जिल्ला प्रशासन कार्यालय भ्रष्टाचारको केन्द्र बनिसक्दा पनि कुनै कारवाही अगाडि नबढेकोमा सेवाग्राही आश्चर्यचकित छन् ।

सिरहाका ती कार्यालयमा कर्मचारीलाई भेट्न मुस्किल हुन्छ तर दलाल भने पार्किङदेखि नै सेवाग्राहीलाई पछ्याउन थाल्दछन् । तसर्थ बाध्य भएर सेवाग्राहीले दलालसँगै समझदारी गरी काम अगाडि बढाउनुपर्दछ ।

कार्यालय हातामा मात्र नभई कर्मचारीको कार्यकक्षमै कानमा कुण्डल लगाएका दलालहरू सेवाग्राहीसँग मोलतोल गरिरहेका हुन्छन् । सरकारी दराजमा राखिएका अत्यन्त महत्वपूर्ण मानिने सवारी साधनका कागजात दलालहरू सजिलै हेर्ने गर्दछन् । कर्मचारी पनि आफ्नो दायित्वलाई बिर्सेर दलालहरूलाई कार्यकक्षमा आई गोप्य र संवेदनशील फाइल चलाउन दिन्छन् ।

सगरमाथा यातायात कार्यालयले सवारी साधनको दर्ता तथा नामसारीको काम गर्दछ । नेपाल सरकारले तोकेको रकमभन्दा कम्तीमा पाँच सयदेखि एक हजार रूपैयाँसम्म ती दलालले आफ्नो सेवाशुल्क भन्दै सेवाग्राहीबाट उठाउँछन् । त्यो रकममध्ये केही कार्यालयका कर्मचारीको भागमा पनि पर्ने भएकोले त्यसैको लोभमा कर्मचारीले दलाललाई कार्यालयमा प्रवेश गर्न दिने गरेको गुनासो छ ।

मालपोत कार्यालयमा लेखनदास कर्मचारीको कोठामा गएर आफै मोठ लगायतका रजिष्टर खोजेर कर्मचारीको टेबलमा पु¥याइदिन्छ र ‘भयो’ भन्ने सङ्केत दिएपछि कर्मचारीले कागजातमा तोक र सही छाप गरिदिन्छ ।

नापी कार्यालयमा पनि राज लेखनदासकै चल्छ । कित्ता काटमा सरकारी दस्तुर बाहेक पाँच सय रूपैयाँ दिनुपर्ने दुखेसो सेवाग्राहीको छ ।

जिल्लाका कुनै कार्यालय प्रमुखले सेवाग्राहीलाई केही कष्ट दियो भने स्पष्टीकरण लिने जिल्ला प्रशासन कार्यालय सिरहाका प्रमुख जिल्ला अधिकारीकै कार्यालयमा पनि दलालको बोलबाला छ ।

नागरिकतामा त्रुटिदेखि लिएर राहदानी लगायतका काम गराउनका लागि दलालहरूले जिल्ला प्रशासन कार्यालय सिरहामा पार्किङदेखि नै पछ्याउन थाल्दछन् ।

सेवाग्राहीसँग कुरा मिलेपछि दलाल फाइल लिएर सम्बन्धित कर्मचारीको कार्यकक्षमा प्रवेश गरेर कामबारे जानकारी गराउँछ र केही छिनपछि कोठाबाट बाहिर आएर पाँच सयदेखि दुई हजार रूपैयाँसम्म थप्न भन्छन् ।

पहिले जिल्ला प्रशासन कार्यालयभित्र घुमी घुमी दलाली गर्नेहरू अहिले कार्यालयको मूलढोकामै कार्यालय सञ्चालन गरी दलाली गर्न थालेका छन् ।