अब बस्ने संविधानसभा बैठकले मार्गप्रशस्त गर्छ

काठमाडौँ, २९ चैत । संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले अब बस्ने संविधानसभा बैठकले संविधान लेखनको मागप्रशस्त गर्ने बताउनुुभएको छ ।

नेपाल उद्योग वाणिज्य महासङ्घको ४९औं वार्षिक साधारणसभा एवम् उद्योग वाणिज्य दिवस २०७१ को अवसरमा आज आयोजना गरिएको कार्यक्रममा उहाँले सहमति वा प्रक्रिया जुनसुकै तरिकाबाट भएपनि संविधान जारी हुने बताउनुभएको हो ।

उहाँले अब बस्ने बैठकको मिति (यही चैत ३० गते) भित्र सहमति गर्न राजनीतिक दललाई आग्रह भन्नुभयो, “समयमै सहति गर्नुहोस् होइन भने संविधानसभा नियम र स्थापित अभ्यासअनुसार अगाडि बढ्छ किनकी संविधानसभाको नियमावली र विधि तपाईंहरुले नै तयार गर्नुभएको हो ।”

यस पटक संविधानसभाले संविधान बनाउनै पर्ने बाध्यता रहेको धारणा राख्दै उहाँले भन्नुभयो, “यो पटक संविधान बनाइएन भने संविधानसभाबाट संविधान बन्दैन ।”

उद्योग वाणिज्य महासङ्घलाई पनि सहमति र एकताबद्ध भएर आगाडि बढ्न सुझाव दिँदै अध्यक्ष नेम्वाङले बजेट चाँडो ल्याउने विषयमा सरकारलाई आग्रह गरेको बताउनुभयो ।