नयाँ वर्ष संविधान प्राप्तिको वर्ष हुने

भक्तपुर, २९ चैत । नेकपा (एमाले) का सचिव प्रदीपकुमार ज्ञवालीले नयाँ वर्ष २०७२ साल नयाँ संविधान प्राप्तिको वर्ष हुने बताउनुभएको छ ।

नेकपा (एमाले) महामञ्जुश्री नगरकोट नगर कमिटी भक्तपुरले यहाँ आयोजना गरेको नयाँ वर्षको चियापान कार्यक्रममा उहाँले नयाँ वर्षको आगमनसँगै संविधान निर्माण हुने बताउनुभएको हो ।

नेपाली काँग्रेस र एमाले सहमतिबाटै जान खोजेको बताउँदै उहाँले सत्तापक्षले दुईतिहाईको दम्भ देखाएको भए संविधानसभाको बैठक बस्ने बित्तिकै प्रक्रियाबाट अगाडि जान सक्ने धारणा राख्नुभयो ।

नगर कमिटीका अध्यक्ष विष्णु तामाङको सभापतित्वमा सम्पन्न कार्यक्रममा एमालेका केन्द्रीय सदस्य सोम मिश्र, सभासद् केदार सञ्जेल, जिल्ला अध्यक्ष राजेन्द्र राजथलालगायतले छिटो संविधान जारी गरेर मुलुकलाई गति दिनुपर्ने बताउनुभयो । रासस