बागलुङमा काँग्रेसका खड्का विजयी

बागलुङ, चैत ३० गते । बागलुङ क्षेत्र नम्बर एकमा सम्पन्न संविधानसभा उपनिर्वाचनमा नेपाली कांग्रेसका चम्पादेवी खड्का विजयी हुनुभएको छ । खड्का निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका मनकुमारी केसी भन्दा २ हजार ८६ मतको अन्तरमा विजयी हुनुभएको हो । कांग्रेसका खड्काले १७ हजार १५४ र केसीले १५ हजार ६८ मत प्राप्त गर्नुभएको निर्वाचन आयोगले जनाएको छ ।

congresscamember

आज सम्पन्न उपनिर्वाचनको मतदानमा ३८ हजार ४८ जनाले मतदान गरेका थिए । विद्युतीय मतदान यन्त्रको प्रयोग गरिएका कारण आइतबार ६ घण्टामै मत परिणाम सार्वजनिक भएको थियो । मत परिणाम अनुसार कांग्रेसका खड्काले १७ हजार १५४, एमालेका मनकुमारी केसीले १५ हजार ८६, एकीकृत नेकपा माओवादीका कृष्ण केसीले २ हजार २०५, राष्ट्रिय जनमोर्चाका नेत्रबहादुर बुढाले १ हजार ९४९, नेकपा मालेका कुलबहादुर किसाने ४४४, राप्रपा नेपालका नविनचन्द्र शरवुजाले २६५, संघीय समाजवादीका रेशम थापा मगरले २४४, राष्ट्रिय जनमुक्ति पार्टीका रुकबहादुर पुनले ६०, परिवार दलका बाबुराम शर्माले ३५, राष्ट्रवादी एकता पाटीका क्षेत्रप्रताप थापाले २५, स्वतन्त्र उम्मेदवारहरु सरस्वती पन्तले २०६, नैनकुमारी केसीले ५९ र तुलसी थापाले २५ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत हरिप्रसाद जोशीले जानकारी दिनुभयो ।

उम्मेदवार बनेका १३ जना मध्य विजयी नेपाली कांग्रेस र एमालेको बाहेक अन्य ११ उम्मेदवारको जमानत जफथ भएको छ । निर्वाचन ऐन अनुसार कुल खसेको मतको १० प्रतिशत मत प्राप्त गर्नुपर्नेमा दुई जना बाहेक अन्य कसैले पनि १० प्रतिशत मत प्राप्त गर्न नसकेको निर्वाचन आयोगले जनाएको छ । १९ वटा गाउं विकास समिति र एउटा नगरपालिकाका ११ वटा वडा समावेश गरिएको क्षेत्र नम्बर एकका सबै गाविसबाट शनिबार सांझ १२ बजे मतपेटिका सदरमुकाम ल्याइएको थियो ।
५२ हजार २०२ मतदाता रहेकोमा ७३ प्रतिशत ३८ हजार ४८ मत खसेको थियो । बिहान ७ बजदेखि मत गणना गर्ने जनाइएपनि निर्वाचनको समयमा नेकपा एमालेका कार्यकर्ताहरु पक्राउ परेको भन्दै एमालेले विरोध गरेपछि ढिलाई भएको थियो ।
विजयीपछि नेपाली कांग्रेसका उम्मेदवार चम्पादेवी खड्काले आफ्ना स्वर्गीय श्रीमान हरिबहादुर खड्काले थालेका कामलाई महत्वका साथ सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । विजयी भएपछि नेपाली कांग्रेसले जिल्ला सदरमुकाममा विजयी जुलुस निकालेको छ । २०७० मंसिरमा सम्पन्न दोस्रो संविधानसभाको निर्वाचनमा विजयी सभाषद हरिबहादर खड्काको जिप दुर्घटनामा परी मृत्यु भएपछि शनिबार उपनिर्वाचन भएको हो । उपनिर्वाचनमा विजयी खड्का स्वर्गीय सभाषद खड्काका श्रीमती हुनुहुन्छ ।
गत संविधानसभाको निर्वाचनमा नेपाली कांग्रेसका स्वर्गीय सभाषद हरिबहादुर खड्काले १३ हजार ५००, एमालेका उम्मेदवार हिराबहादुर केसीले ११ हजार ९६३, एनेकपा माओवादीका कृष्ण केसीले ६ हजार ३ र राष्ट्रिय जनमोर्चाका तिर्थसिंह थापाले २ हजार १५९ मत प्राप्त गर्नुभएको थियो । यसपटकको निर्वाचनमा मतदाताको संख्या बढेपनि कांग्रेस र एमाले बाहेक अन्य सबै दलका उम्मेदवारको मत अघिल्लो निर्वाचनमा भन्दा घटेको छ ।