प्राथमिकताका आधारमा पूर्वाधार योजना गरिनुपर्ने

काठमाडौँ, ११ वैशाख । उपप्रधानमन्त्री वामदेव गौतमले प्राथमिकताका आधारमा पूर्वाधार योजना गरिनुपर्ने बताउनुभएको छ ।

राष्ट्रिय योजना आयोगद्वारा आज यहाँ आयोजित बजेट पूर्वाधारसम्बन्धी उच्चस्तरीय गोष्ठीमा प्रधानमन्त्रीको समेत कार्यभार सम्हाल्नुभएका गृहमन्त्री गौतमले राष्ट्रको समग्र विकासका लागि प्राथमिकता छुट्याएर स्पष्ट पूर्वाधार योजना तयार गर्नुपर्ने बताउनुभयो । “पूर्वाधार विकासका लागि ऊर्जा मुख्य आधार हो, त्यसतर्फ योजना निर्माताको ध्यान जानुपर्छ, आगामी दश वर्षभित्र २० हजार मेगावाट विद्युत् उत्पादन गरिनुपर्छ”, उहाँले भन्नुभयो ।

नेपालको विद्यमान पूर्वाधार पञ्चायती नमुनाको भएको बताउँदै उहाँले स्थायी रणनीतिक योजना हिमाल, पहाड, तराई कतै पनि नरहेका कारण समयसापेक्ष पूर्वाधार योजना तयार गर्नुपर्ने उल्लेख गर्नुभयो ।

भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री विमलेन्द्र निधिले पूर्वाधार विकासका लागि लगानीमैत्री वातावरण तयार गर्नुपर्ने बताउनुभयो ।

योजना आयोगका उपाध्यक्ष प्रा डा गोविन्दराज पोखरेलले पूर्वाधार विकासमा जोड दिएर बजेट तय गरी देशको आर्थिक वृद्धिदर बढाउनुपर्ने बताउनुभयो । “देशलाई अल्प विकसितबाट विकसिततर्फ लैजानका लागि रु ९७ खर्ब लगानी आवश्यक छ, त्यसका लागि निजी क्षेत्रको सहयोग अपरिहार्य छ”– उहाँले भन्नुभयो ।

योजना आयोगका सदस्य डा स्वर्णिम वाग्लेले पूर्वाधार विकासका लागि स्पष्ट प्रभावकारी योजना निर्माणतर्फ सरोकार भएका निकाय लाग्नुपर्ने बताउनुभयो । चार चरणमा आयोजित उक्त कार्यक्रममा अर्थमन्त्री, सिँचाइमन्त्री, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री र सहरी विकास मन्त्री डा नारायण खड्कासहित विभिन्न क्षेत्रका विज्ञले आआफ्ना धारणा राख्ने जनाइएको छ । रासस