पानीजहाज दुर्घटनामा सयौ आप्रवासीको मृत्यू

लिविया, बैशाख ८ गते । इटालीको दक्षिणस्थित लामपेडुसा टापु नजिक भूमध्य सागरमा भएको पानीजहाज दुर्घटनामा सयौँ आप्रवासीको मुत्यु भएको छ । गएको मध्य रातमा दुर्घटना भएकाले धेरैलाई जीवितै उद्धार गर्न नसकिएको बताइएको छ । पाँचसयदेखि सात सय जना सबार सो पानीजहाज अत्यधिक भारका कारण दुर्घटना भएको अनुमान गरिएको छ ।

दुर्घटना भएपछि उद्धारमा खटिएका माल्टा, लिविया र इटालीका तट रक्षक सेना तथा व्यावसायिक पानीजहाजले २८ जनाको जीवितै उद्धार गरेका छन् । त्यहाँ उद्धारका लागि २० वटा पानीजहाज र तीनवटा हेलिकोप्टर परिचालन गरिएको छ ।
दुर्घटनाग्रस्त पानीजहाजमा गैर कानुनी रुपले युरोप प्रवेश गर्न खोज्ने आप्रवासीहरु रहेको छन् ।
द टाइम्स अफ माल्टा अखबारका अनुसार गैर कानुनीरुपमा युरोप प्रवेश गर्न खोजेको उक्त पानीजहाजमा क्षमताभन्दा बढी सबार भएकै कारण दुर्घटनामा परेको हो ।
दुर्घटनास्थल लामपेडुसाबाट २१० किलोमिटर र लिवियाको तटबाट २७ किलोमिटर टाढा रहेको छ ।
इटालीका तट रक्षकले दुर्घटनास्थलमा उद्धार कार्य जारी रहेको भए भए पनि जीवित यात्रु भेटिने सम्भावना कम रहेको बताएका छन् ।
गत साता पनि लिविया नजिकै भएको पानीजहाज दुर्घटनामा करिब चार सय जनाको मृत्यु भएको थियो ।
एजेन्सी