आजदेखि कर्णालीको प्रत्यक्षसम्बन्ध काठमाडौँसँग

जुम्ला, वैशाख ११ गते । आज अर्थात लोकतन्त्र दिवसको दिनबाटै कर्णालीले स्थलमार्गबाट पनि काठमाडौँसँग प्रत्यक्ष सम्बन्ध जोडेको छ । स्थलमार्गबाट नै काठमाडौँसँग विधिवत् सम्बन्ध जोड्न आज बिहानै आयोजित कार्यक्रममा सो सेवाको सहायक प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद न्यौपानेले शुभारम्भ गर्नुभयो ।

सो अवसरमा उहाँले बस सेवा सुरु गर्ने कर्णाली यातायात व्यवसायीलाई धन्यवादका साथ सफलताको शुभकामना व्यक्त गर्नुभयो । त्यसैगरी सम्पूर्ण दलको तर्फबाट नेकपा–माओवादीका केन्द्रीय सदस्य नवराज न्यौपानेले बस सेवा सुरु भएपछि महिनौँ दिनको दूरी दुई दिनमा छोटिएकामा कर्णालीवासीका लागि आनन्द मिलेको बताउनुभयो ।

कर्णाली यातायात व्यवसायी समितिका वरिष्ठ उपाध्यक्ष नन्दप्रसाद चौलागाईले विगतका वर्षमा यस क्षेत्रका गाडी साहुहरूले हेलिकोप्टरमा महँगो भाडा हालेर पनि चलाएको भन्दै हिजै मात्र काठमाडौँबाट तिला रारा कर्णाली बस छुटेको बताउनुभयो ।

आज जुम्लाबाट छुटेको बसमा करिब आठजना यात्रु रहेका छन् । करिब ३६ घण्टामा काठमाडौँ पुग्ने दुई हजार ८५० भाडा तिरेका छन् । उनीहरूले जुम्लाबाट काठमाडौँ पुग्न करिब ८३० किलोमिटरको यात्रा पूरा गर्नुपर्नेछ । रासस