पर्यटन बोर्डको दैनिक कार्य सुचारू

काठमाडौँ, ११ वैशाख । कर्मचारी निलम्बनमा परी केही दिनयता अन्योल उत्पन्न हुँदै आएको नेपाल पर्यटन बोर्डको दैनिक कार्य सञ्चालन भएको छ ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बोर्डमा छानविन गरी विशेष अदालतमा मुद्दा दायर गरेपछि बोर्डका निमित्त कार्यकारी प्रमुखसहित उच्च तहका कर्मचारीलाई निलम्बन गरेपछि दैनिक कार्यसम्पादनमा समस्या र अन्योलता उत्पन्न भएको थियो ।

बोर्डले यहाँ आज पत्रकार सम्मेलन गरी वोर्डमा आएको उत्पन्न परिस्थितिको सामान्यीकरण गर्दै दैनिक कार्य सञ्चालन गर्न बोर्डको ऐन, २०५३ मा भएको प्रावधानअनुसार बोर्डको कार्यकारी समितिको बैठकले कार्य सम्पादन उपसमिति गठन गरी आजकै दिनदेखि जिम्मेवारी दिएको जानकारी दिएको हो ।

पाँच सदस्यीय गठित उपसमितिले कार्यकारी समितिले सुम्पेअनुसारको अधिकार तथा कार्यविधि बमोजिम कार्य सम्पादन गर्ने छ । उपसमिति संयोजक राजेन्द्र सापकोटाले अबका दिनदेखि बोर्डबाट दैनिकरूपमा सम्पादन हुने कार्यहरू सुचारू भई सेवाग्राहीको सन्तुष्टि र बोर्डको प्रतिष्ठालाई दिनानुदिन उच्च बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले बोर्डले सुसासनका आधारभूत सिद्धान्तलाई व्यवहारमा उर्तार्दै नेपालको पर्यटन प्रवद्र्धन गर्न प्रतिबद्ध रहेको उल्लेख गर्नु भयो । रासस