संविधान निर्माण अन्तिम प्रक्रियामा

विराटनगर, बैशाख ६ गते । वन भुसंरक्षण मन्त्री महेश आचार्यले संविधान निर्माणको अन्तिम प्रक्रियामा रहेको बताउनु भएको छ । विराटनगरमा शनिबार लायन्स क्लव अफ अन्तराष्ट्रिय ‘३२५ ए वान’ को तेस्रो अधिवेशन उद्घाटनपछि शुभकामना मन्तव्य दिनुहुँदै मन्त्री आचार्यले यस्तो बताउनु भएको हो ।

‘केही दुविधा छैन, हामी सबै राजनीतिक दल एउटा नयाँ प्रक्रियामा छौं’मन्त्री आचार्यले सम्बोधन गर्दै भन्नुभयो । उहाँले प्रदेशको नामाकंन र सिमाकंनको विषयमा सबै दलहरुका आ–आफ्नै अडान र विचार भएपनि त्यसलाई मस्यौदामा समेटेर जनताबीच छलफलमा लान सबै दलहरु सकारात्मक देखिएको बताउनुभयो ।

‘सत्तापक्ष दलहरुले हिमाल, पहाड र तराईलाई जोड्दै ६ प्रदेशको कुरा अगाडी सारेका छौं, एमाओवादी लगायतका दलहरुले त्यसमा केही रिजभेसन राख्दै आउनु भएको छ, अब हामी आ–आफ्ना कुरालाई मस्यौदामा समेटेर जनताको राय बुझ्न जान तयार भएका छौं’ वनमन्त्री आचार्यले भन्नुभयो ।

सबै विषय जनतामा लिएर राय बुझेपछि संविधान जारी गर्ने विषयमा अड्केको विषय टुंगो लाग्ने र यसले फरक मतलाई समेत सम्मान गर्ने अवस्था सिर्जना हुनेमा उहाँको विश्वास थियो । उहाँले लायन्स क्लवले नेपाली राजनीतिमा देखिएको विवादलाई अन्त्य गर्न एकतामा बढ्न सन्देश दलहरुलाई दिनुपर्ने समेत बताउनुभयो ।

यसैगरी सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले कसैले रोक्दैमा र भन्दैमा संविधान नआउनुपर्ने कारण नभएको बताउनुभयो । उहाँले राष्ट्रियता र राष्ट्रिय एकतालाई मजबुत राख्दै नयाँ संविधान २०७२ साल भित्रै जारी हुने विश्वास व्यक्त गर्नुभयो । ‘संविधानका लागि हामीले २०७३ साल पर्खनु पर्दैन, यहि वर्ष संविधान जारी हुन्छ’ मन्त्री पण्डितले भन्नुभयो । मन्त्री पण्डितले साना र झिना शक्तिहरुले नेपाली राष्ट्रियता र एकतालाई खलल् पु¥याउने खालका गतिविधि गर्दैमा एकता नखल्बलीने बताउनुभयो ।

यसैगरी सभासद् डा.शेखर कोइरालाले सबैको एकताका साथ संविधान जारी हुनेमा आफू विश्वस्त रहेको बताउनुभयो । कार्यक्रममा लायन्स क्लवका पूर्व प्रमुख, गर्भनरहरुले नेपाली राजनीतिमा देखिएको समस्या समाधान गर्न नेपाली दलका नेताहरु सक्षम रहेको बताउँदै चाँडै संधिवान जारी गर्न सुझाव दिनुभएको थियो ।