अलैंची खेतीले पुनः आशा जगाउँदैे

इलाम, वैशाख ११ गते । केहि बर्ष यता रोगले मासिदै गएको अलैंची खेती पुन विस्तार हुन थालेको छ । नयाँ जातको अलैंची भित्रिएसँगै अलैंची खेती विस्तार हुन थालेको हो ।
जिर्मले, भार्लाङ जातको अलैंचीले किसानलाई फसल दिन सुरु गरेको छ । जिल्लाका जिर्मले र माबु गाविसमा अलैंचीको नर्सरी फर्मनै राखिएको छ । त्यसको अलावमा अलैंची विकास केन्द्र केन्द्रिय कार्यालय फिक्कल पान्दामलेसमेत अलैंची विरुवा उत्पादन गर्दै आएको छ ।
बर्षेनी अलैंची खेती विस्तार तथा उत्पादन बढ्दै गएको जिर्मले गाविसका अलैंची किसान सम्शेर राईले बताउनुभयो । किसानले प्रतिगोटा १० रुपियाँसम्म किनेर अलैंची खेती गर्ने गरेका हुन् ।
यो बर्ष अलैंची विरुवा र दाना दुवै बढ्ने देखिएको छ, राईले भन्नुभयो,‘अलैंचीको फुल लाग्ने समयमा पानी परेकाले उत्पादन बढ्ने भयो ।’ राईले गतबर्ष ६ मन अलैंची उत्पादन गर्नुभएकोमा यसबर्ष बढ्ने आशामा हुनुहुन्छ ।
प्याङ् गाविसमा भार्लाङ जातको अलैची हुर्किएको छ । भारतबाट भित्रिएको भार्लाङ जातको अलैंचीले गतबर्षदेखि नै फसल दिन थालेको किसानले बताएका छन् । अलैंची खेती पुन फस्टाउँदै गएकाले किसानले खेती विस्तार गर्न थालेको प्याङ्ग गाविसका किसान रमेश काफ्लेले बताउनुभयो ।
लामो समयसम्म रोग लागेकै कारण अलैचीमा आशा मार्दै गएका किसानले पुन खेती विस्तार थालेका हुन् । जिर्मले जतको अलैंची विस्तार भईरहको छ, जोगमाई गाविसका अलैंची किसान विर बहादुर राईले भन्नुभयो,‘विरुवा महँगो भएपनि किसानले रोप्न छाडेका छैनन् ।
स्थानीय जातको अलैंचीसमेत फल्न थालेको र रोग हराउन थालेको जोगमाई गाविसका किासान दुर्गा महतले बताउनुभयो । गतबर्ष महतले स्थानीय जातको अलैंची १२० केजि उत्पादन गर्नुभयो ।
अलैंची खेती कम मेहिनतकै भरमा राम्रो आम्दानी हुने भएकाले किसानहरु अलैंची विस्तारतर्फ लागेका हुन् । जिल्लाका अलैंची किसानलाई अलैंची विकास केन्द्र फिक्कल पान्दाम र जिल्ला कृषि विकास कार्यालयलेसमेत विरुवा वितरण गरेर सहयोग गरिरहेको छ ।
पान्दाममा उत्पादन भएको अलैंची विरुवा वितरणका लागि जिल्लाभित्रका किसालाई पहिलो प्रथमिकतामा राखिएको केन्द्रका प्रमुख पदम अधिकारीले बताउनुभयो । मुलुकको विभिन्न ४० जिल्लाबाट ३० लाख विरुवाको माग भएपनि पर्याप्त नभएको उहाँले जानकारि दिनुभयो । अहिले जिल्लाको पिक्कल, जिर्मले, मावु, प्याङ, जोगमाईलगायत गाविसमा विस्तार गर्न थालिएको छ ।