नयाँदिल्ली पुगेका चार बालकको उद्धार

कपिलवस्तु, चैत २७ गते । भारतको नयाँदिल्ली पुगेका सप्तरीका चार बालकलाई उद्धार गरी नेपाल ल्याइएको छ । प्रवासी मञ्च नेपालको सहयोगमा कपिलवस्तुस्थित शान्ति पुनःस्थापना केन्द्रले अलपत्र अवस्थामा रहेका ती बालकलाई उद्धार गरी जिल्लामा ल्याएको हो ।

सप्तरीस्थित राजबिराज नगरपालिका–९ राजगल्ली टोलका १४ वर्षीय विनोद शाह, विकास पासवान, चन्दनकुमार दास तथा बरहीपुर–९ का १० वर्षीय लक्ष्मीकुमार यादवलाई उद्धार गरिएको मञ्चका संरक्षक दुर्गाप्रसाद अर्यालले जानकारी दिनुभयो ।

विनोद, चन्दन र विकास २० दिन अघि आफ्नो घरबाट ट्रेन हेर्ने भन्दै दिल्ली पुग्नुभएको थियो । लक्ष्मीकुमारलाई भने गाउँकै जीतेन्द्रकुमार यादवले दिल्ली लगेका थिए ।

“पैसाको जोरजाम गरी ट्रेन हेर्ने भन्दै दिल्ली पुगेका थियौँ”, चन्दनले भन्नुभयो, “दिल्लीको रेलवे स्टेशनमा अलपत्र परेपछि ‘डन वर्स’ नामक संस्थाका कर्मचारीले हामीलाई अफिसमा लगेको थियो ।”

श्रीराज देबी माविमा कक्षा ६ अध्यययनरत विकास पासवनाले आफुहरू लहलहैमा दिल्ली गएको बताउनुभयो ।

“दिल्ली पुगेपछि पैसा सकियो, डनवर्स संस्थाले हामीलाई खान बस्न दियो ।”

१० वर्षीय लक्ष्मीकुमारले आफुलाई छिमेककै जीतेन्द्रले सँगै लगेर दिल्लीमा एक्लै छाडेर भागेको बताउनुभयो । उनलाई पनि डनवर्सले नै शरण दिएको थियो ।

प्रवासी मञ्चसँग समन्वय गरी ती बालकलाई नेपाल फर्काउन सफल भएको पुनःस्थापना केन्द्रका कार्यक्रम संयोजक भुमी भट्टराईले बताउनुभयो ।

ती बालकलाई कपिलवस्तुस्थित जिल्ला प्रशासन कार्यालयमार्फत सप्तरी पठाइएको जानकारी प्रजिअ विनोद प्रकाश सिंहले दिनुभयो । उनीहरूलाई सप्तरी प्रशासन कार्यालयमार्फत अभिभावकको जिम्मा लगाइने उहाँले बताउनुभयो ।

ती बालकलाई प्रवासी मञ्च र पुनःस्थापना केन्द्रले बिहीवारै सप्तरीमा पु¥याउने जनाएको छ ।