उत्तरी चीनको एक कोइला खानीमा २४ फसे, २२३ को उद्धार

ताइयुआन (चीन), बैशाख ८ गते । उत्तर चीनको सान्सी प्रान्तमा अवस्थित एक कोइला खानीमा पानीको भेल पसी त्यहाँ कार्यरत २४ व्यक्ति फसिरहेका जनाइएको छ । स्थानीय समयानुसार आइतबार साँझ ६ः५० मा खानी भित्र भेल पसेको कोइला खानी संस्थापकले सोमबार जानकारी दिएका छन् । फसेका कामदारहरुको खोजी र उद्धार कार्य जारी रहेको जनाइएको छ ।

ज्याङ्गजिआवाङ्ग नामक सो कोइला खानीमा दुर्घटना भएका बखत २४७ जना कामदार कार्यरत रहेका र ती मध्ये २२३ जनालाई भने उद्धार गरिएको बताइएको छ । दातोङ्ग कोल माइन गु्रपले सञ्चालन गर्दै आएको उक्त कोइला खानीको बार्षिक उत्पादन क्षमता ९ लाख टन रहेको जनाइएको छ ।
खानी परिसर कै नजिकै रहेको, पहिला कोइला झिकिसकिएको एउटा ठूलो खाडलमा जमेको पानीको भेल नियन्त्रण हुन नसक्दा दुर्घटना हुन पुगेको प्रारम्भिक अनुसन्धानबाट जानकारी दिइएको छ । रासस