बैंकमा आत्मघाती बम आक्रमण गरी २२ को हत्या

जलालावाद (अफगानिस्तान), ८ वैशाख । पूर्वी अफगानिस्तानको जलालावाद सहरमा रहेको एक बैंकमा शनिबार गराइएको आत्मघाती बममा परी कम्तीमा पनि २२ जनाको ज्यान गएको समाचार छ ।
मारिनेहरुमा अधिकांश सरकारी कर्मचारी नै परेका बताइएको छ । विस्फोटमा परी अरु ५० जनाभन्दा बढी व्यक्ति घाइते भएका छन् । ती मध्ये अधिकांशको अवस्था गम्भीर रहेको बताइएको छ ।
प्राप्त पछिल्लो समाचारअनुसार सो क्षेत्रमा रहेको उक्त बैंकमा सरकारी कर्मचारीले मासिक तलब लिनका लागि जम्मा भइरहेको समयमा सो हमला भएको छ । बमले लागेर ज्यान जानेमा अधिकांश सरकारी कर्मचारी परेका छन् ।
कर्मचारीले मासिक तलब लिनका लागि सो बैंकमा भिड लागेको समयमा यस्तो हमला भएको प्रहरीले जनाएको छ । उक्त बैंकको परिसरमा ठूलो सङ्ख्यमा कर्मचारी जम्मा भएको समयमा हमला भएको बताइएको छ ।
नान्गार प्रान्तका प्रन्तीय प्रहरी प्रमुख फजाल अहमद सिरजादले सो समाचारको पुष्टि गर्नुभएको छ । उहाँले मारिने नागरिकको सङ्ख्या हाल २२ रहेको बताउनुभएको हो ।
मारिनेको सङ्ख्या अझ बढ्नसक्ने अनुमान पनि उहाँले गर्नुभएको छ । उहाँकाअनुसार अस्पतालसम्म पु¥याइएका अधिकांश व्यक्तिको अवस्था गम्भीर रहेकोले मृतकको सङ्ख्या बढ्न पनि सक्नेछ ।
अफगानिस्तानमा लामो समयदेखि हिंसात्मक हमला जारी राखेको तालिवानका प्रवक्ता जबिहुल्लाह मुजाहिदले भने सो हमलाको जिम्मेवार तालिवान नरहेको बताउनुभएको छ ।
शनिबार बिहान भएको सो हमलाका लागि उहाँले जिम्मेवारी नलिनुभएको समाचारमा जनाइएको छ । अफगानिस्तानमा हुने प्राय यस्ता हमलाहरुमा त्यहीँका तालिवानहरुको हात रहने जानकारी प्रहरीले दिने भएकोले यसअघि नै उहाँले सो घटनाको जिम्मेवारी नलिइएको बताइएको छ ।
पछिल्लो समय अफगानिस्तानका तालिवानहरुले त्यहाँका सरकारी कार्यालय र सुरक्षा निकायमा यस्तो आक्रमण केन्द्रित गर्ने गरेका छन् । उनीहरुले यसअघि पनि यसै महिना सुरक्षाकर्मीलाई लक्ष्यगरी हमलाहरु गरेका छन् ।
सन् २०१४ को अन्त्यसँगै अफगानिस्तानबाट नेटो सैनिकले अफगानिस्तान छोडिसकेका छन् । सो घटनापछि तालिवानहरुले पनि सरकारी कार्यालय र कर्मचारीमा यस्तो आक्रमण केन्द्रित गरिरहेको बताइएको छ । रासस