ज्येष्ठ नागरिकको लागि रु दुई लाख दान सङ्कलन

म्याग्दी, वैशाख ९ गते । म्याग्दीको गलेश्वरधाममा रहेका ज्येष्ठ नागरिकका लागि एकै दिन रु दुई लाख बढी दान सङ्कलन भएको छ । अक्षय तृतीयाको अवसरमा विभिन्न व्यक्तिबाट तुलादान, मुठिदान र अक्षयकोषमा रकम जम्मा गरी रु दुई लाख २० हजार ५६४ बराबरको दान सङ्कलन भएको गलेश्वरधाम ज्येष्ठ नागरिक आश्रमका अध्यक्ष रुद्रबहादुर केसीले जानकारी दिनुभयो ।

पुलत्स्य पुलह अन्नक्षेत्र र गलेश्वरधाम ज्येष्ठ नागरिक आश्रमको आयोजनामा भएको कार्यक्रममा २९ जनाले तुलादान, ३१ जनाले मुठिदान र एक जनाले पृति अक्षयकोषमा रकम जम्मा गरेको अध्यक्ष केसीले बताउनुभयो ।

उक्त अवसरमा पोखराको अर्चलबोट निवासी भक्तराम तिलिजा र उहाँकी धर्मपत्नी टिकिसराले आफ्नो तौल बराबरको नगद, जौ र तिल गरी रु ७७ हजार ५८० बराबरको दान गर्नुभएको थियो ।

दानबाट सङ्कलन भएको खाद्यान्न र नगद गलेश्वरधाम ज्येष्ठ नागरिक आश्रममा रहेको ज्येष्ठ नागरिकको भोजन सुविधाका लागि खर्च गरिने छ ।

वृद्धाश्रममा रहेका वृद्धवृद्धालाई निःशुल्क खानाको व्यवस्थापन गर्दै आएको अन्नक्षेत्रले प्रसिद्ध गलेश्वरधाम, मुक्तिनाथ, दामोदरकुण्डलगायतका धार्मिकस्थलको भ्रमणमा आउने भक्तजनलाई समेत निःशुल्क खानाको सुविधा प्रदान गर्दै आएको छ । रासस