एउटै वडाबाट दुई करोडको तरकारी बिक्री

दैलेख,११ वैशाख । नारायण नगरपालिका–२ का सर्वराज भण्डारीले वार्षिक रु आठ लाख बराबरको तरकारी बिक्री गर्ने गरेका छन् ।

करेसाबारीबाट सुरु गरेको तरकारीखेती अहिले १३ रोपनी जग्गामा फैलिएको छ । त्यही १३ रोपनी जग्गामा भण्डारीले वर्षभरि विभिन्न तरकारी लगाउने गर्छन् । जग्गा भाडामा लिएर तरकारी लगाउन सुरु गरेका उनले तरकारीकै आम्दानीबाट त्यही जग्गा समेत किन्नुुभयो ।

“घरपरिवारबाटै सहयोग पाइएकाले व्यावसायीक तरकारी खेती गर्न सहयोग पुगेको हो” उहाँले भन्नुभयो । उहाँलाई तरकारी सदरमुकाम दैलेख बजारसम्म पु¥याउन हम्मेहम्मे पर्ने गरेको छ ।

सर्वराजले जस्तै सोही वडाका खगेन्द्रबहादुर थापाको अधिकाँश समय तरकारी उत्पादनमै वित्ने गरेको छ । उनी जिल्ला विकास समितिका नायवसुब्वा समेत हुन् । कार्यालयको समयबाहेक अरुबेला थापा तरकारी उत्पादनमै व्यस्त हुने गर्दछन् । गोलभेँडा, बन्दागोभी, आलु र काउलीबाटै रु पाँच लाखसम्म आम्दानी गर्ने गरेको उहाँले बताउनुभयो ।

भण्डारी र थापाले मात्र तरकारी उत्पादन गर्ने गरेका होइनन् । नारायण नगरपालिका–२ का अधिकाँशले तरकारी व्यवसाय गर्दै आएका छन् । सो एउटै वडाबाट मात्रै वार्षिक रु दुई कारोड बराबरको तरकारी बिक्री हुने गरेको छ । उत्पादन भएको तरकारी सदरमुकाम तथा जिल्लाका अन्य ठाउँममा खपत हुने गरेको छ ।

कृषि बिकास कार्यालयका निमित्त प्रमुख वरिष्ठ कृषि विकास अधिकृत सूर्यनाथ योगीले उत्पादन भएको तरकारी सदरमुकाममा सहजै खपत भइरहेको बताउनुभयो ।

“विगतमा नेपालगञ्जबाट तरकारी आयात गर्नुपथ्र्यो, अहिले यही उत्पादन भएको खाइरहेका छौँ” उहाँले भन्नुभयो । तरकारी बिक्रीवितरण व्यवस्थित गर्नका लागि संकलन केन्द्रको आवश्यकता रहेको उहाँको भनाइ छ । रासस