श्रम र यौन शोषणमा परेका १७ महिलाको उद्दार

बाँके, चैत २६ गते । खाडी मुलुक तथा भारतका विभिन्न स्थानमा श्रम तथा यौन शोषणमा परेका १७ नेपाली महिलाको पछिल्लो एक वर्षको अवधिमा उद्दार गरिएको छ ।

माइती नेपाल नेपालगञ्जका कार्यक्रम संयोजक केशव कोइरालाले खोजीका लागि निवेदन परेकामध्ये उद्दार गरिएकाको सङ्ख्या एकदमै कम भएको बताउनुभयो ।

भारतमा उद्दार गर्नका लागि संयन्त्र भएपनि खाडी मुलुकमा दुःख पाइरहेका महिलाको उद्दारका लागि प्रभावकारी संयन्त्र नहुँदा उद्दारमा समस्या भएको माइती नेपालले जनाएको छ ।

यसैगरी परिवारले खोजीका लागि निवेदन दिँदा स्थान र व्यक्तिबारे स्पष्ट पहिचान खोल्न नसक्नु पनि समस्या हुने गरेको संयोजक कोइरालाले बताउनुभयो ।

माइती नेपाल नेपालगञ्जले पछिल्लो एक वर्षको अवधिमा जोखिमपूर्ण यात्रामा रहेका ४८९ महिला बालबालिकालाई सीमाक्षेत्रबाट उद्दार गरिएको जनाएको छ ।

एक वर्षको अवधिमा खोजीका लागि २८६ वटा निवेदन परेकोमा ३२ जना मात्रै फेला पर्न सकिएको छ ।