विश्व कविता दिवस मनाइयो

काठमाडौँ, ८ चैत ।

विश्व कविता दिवसका अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठानले आज यहाँ पुराना नयाँ कविका कविता वाचन कार्यक्रमको आयोजना गरेको छ ।

संयुक्त, राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) को आह्वानमा सन् १९९९ देखि हरेक वर्ष विश्वभर मार्च २१ का दिन यो दिवस मनाइन्छ । प्रतिष्ठानको पद्य विभागको आयोजनामा गरिएको गोष्ठीमा साढे दुई दर्जन कविले कविता प्रस्तुत गर्नुभयो ।

कार्यक्रममा प्रतिष्ठानका पूर्व कुलपति वैरागी काइँलासहित, दिनेश अधिकारी, सुलोचना मानन्धर, उमेश राई ‘अकिञ्चन’, कणद महर्षि, गायत्री विष्ट, गीता त्रिपाठी, धीरेन्द्र प्रेमर्षि, नरनाथ लुइँटेल, पञ्चकुमारी परियार, पुरुषोत्तम सुवेदी, प्रमोद प्रधान, प्रह्लाद पोखरेल, बमबहादुर थापा ‘जिताली’, मञ्जु काँचुली, रमेश पौडेल, श्याम रिमाल, रमेश क्षितिज, राधेश्याम लेकाली, रामेश्वर राउत ‘मातृदास’, सङ्गीता स्रोतालगायतले कविता वाचन गर्नुभयो ।

विभागका प्रमुख प्राज्ञ अमर गिरीले २१ तारिखका दिन शनिबार परेकाले आज सो दिवस मनाइएको बताउनुभयो ।

अर्का प्राज्ञ श्रवण मुकारूङले कविताको लोकप्रियता छैन भन्ने भनाइमा सत्यता नभएको भन्दै पाठक र स्रोतासहितको गणना गर्र्दा कविताको लोकप्रियता बढेको तर पुस्तकको बिक्री कम भएको यथार्थ हो भन्नुभयो । रासस