महिला उद्यमी नमुना बन्दै

प्यूठान, २४ फागुन । आफ्नै घरमा पाइने बाँसले गाँससँगै जीविकोपार्जनको आधार बनेपछि यहाँकी एक महिला समाजमा उदाहरणीय पात्र बन्नुभएको छ । “स्वदेशमा रोजगारी पाइँदैन भनेर बिदेसिनेको सङ्ख्या बढ्दै गएको छ ।” उद्यमी महिलाले साहसिक रुपमा भन्नुभयो, “हाम्रै घरमा पाइने बाँसले खानका लागि गाँस मात्रै होइन, परिवार चलाउन आम्दानी पनि दिएको छ ।”

बाँसलाई सदुपयोग गर्दै बेलवास–८, नल्सिकी निर्जला भट्टराईले यसैलाई आम्दानीको स्रोत बनाउनुभएको छ । “खेर गएको बाँसलाई सदुपयोग गर्न थालेदेखि मेरो जीवन नै परिवर्तन भएको छ ।”

उहाँले बाँसबाट सिकेको ज्ञानलाई आफ्नै आँटले व्यवहारमा उतारी व्यवसाय सुरु गरेको बताउनुभयो । माण्डवी लघु उद्यमी समूहमा आबद्ध रहनुभएकी भट्टराईले अहिले बाँसको मुढा बनाउने पेसाबाट परिवारको आर्थिक समस्या समाधान हुने गरेको बताउनुभयो ।

“नल्सीदेखि नजिकै भिङ्ग्री बजार छ, बजारमा मैले बुनेका मुढाको माग अत्यधिक रहेको छ ।” उहाँले भन्नुभयो, “मुढा बिक्रीमा समस्या छैन । एक दिनमा तीनवटा मुढाको सिन्का निकाल्छु र दुई दिनमा तीनवटा मुढा तयार गर्दछु ।” आफूले बनाएको एउटा मुढा रु ३०० देखि रु ४५० सम्ममा बिक्री हुने गरेको भन्दै उहाँले मासिक रु १५ हजारदेखि रु २० हजारसम्म आम्दानी हुने गरेको बताउनुभयो ।

गाउँमा एक घनो बाँसको मूल्य रु १५० छ । एउटा घनो बाँसबाट सात वटासम्म मुढा बुन्न सकिन्छ । मुढाबाट आम्दानी हुने देखेपछि घरमा आफ्ना परिवार सबैले यस पेसामा सहयोग गर्दै आएका छन् । पाँच जनाको उहाँको परिवारका सबैले मुढा बनाउने काममा सहयोग गरेका छन् ।

मुढाका लागि रसी भने बाहिरबाट किनेर ल्याउने गर्नुभएको छ । प्रतिकिलो रसीको रु ८० पर्ने गरेको उहाँले बताउनुभयो । एउटा मुढा रु १५० मा तयार हुने भएकाले यसबाट आम्दानी धेरै गर्न सकिने उहाँको अनुभव छ ।

उहाँले मुढा व्यवसायको बजारीकरण भएमा जिल्लाको मागलाई नै आपूर्ति गर्ने गरी उद्योगका रुपमा व्यवसाय सुरु गर्ने योजना रहेको बताउनुभयो । रासस