भारतमा एक विद्यालयमा वृद्धा ‘नन’ माथि बलात्कार भएकोमा मुलुकभर प्रार्थना

कोलकाता, १ चैत । भारतमा एक विद्यालयमा एक प्रौढ ‘नन’माथि सामूहिक बलात्कार भएकोमा मुलुकभरका चर्चमा प्रार्थनासभा आयोजना गरिएको छ । यस घटनाका कारण भारतमा यौनजन्य हिंसाप्रति जनताको क्रोध बढेको छ र क्रिस्चियन समुदायमा त्रास फैलिएको छ ।

भारतमा हाल चर्चमा आक्रमण बढेको छ र प्रधानमन्त्री नरेन्द्र मोदीले धार्मिक हिंसामा नियन्त्रण गर्ने बचन दिनुभएको छ । यसबीच ७१ वर्षीया यी ‘नन’ माथि आक्रमण भएको हो ।

पश्चिम बङ्गाल राज्यमा आधा दर्जन लुटेरा शुक्रबार एक विद्यालयमा प्रवेश गरी ती ‘नन’ माथि आक्रमण गरेका हुन । उनीहरूले त्यहाँको सम्पत्तिमा क्षति पु¥याएका छन् ।

ती ‘नन’ माथि आक्रमण गर्नुपूर्व ती लुटेराले एक सुरक्षा गार्डलाई घाँटी दबाएर मारेका थिए । यसपछि उनीहरू विद्यालय प्रमुखको कक्षा कोठामा प्रवेश गरी त्यहाँबाट नगद, ल्यापटप तथा मोबाइल फोन चोरेको जानकारी प्रहरीले दिएको छ ।

ती छ आक्रमणकारीमध्ये चारलाई सीसीटीभीको चित्रका कारण पहिचान भएको छ र उनीहरूको बारेमा जानकारी दिने व्यक्तिलाई एक लाख रूपैयाँ पुरस्कार दिने घोषणा भएको छ ।

हालसम्म पाँच अन्य व्यक्तिलाई सोधपुछका लागि हिरासतमा लिइएको छ । रासस