आफैँले खडा गरेको चुनौतीको पहाड चढ्न असफल पोखराका साहित्यकारहरु !

कास्की, २९ फागुन । कविता, गजल र मुक्तक वाचन अनि गद्य लेखन र पुस्तक परिचर्चा । पोखराको दैनिकी हो यो । त्यसैले त ‘१० जना जम्मा भएको ठाउँमा गएर सोध्यो भने त्यहाँ चार जना कवि हुन्छन्’ भन्ने पोखराबारेको साहित्यिक ठट्टा नौलो लाग्दैन यहाँ ।

कवि शिरोमणि लेखनाथ पौड्याल, जनकवि केशरी धर्मराज थापा, अली मियाँ, मुकुन्दशरण उपाध्याय, सरुभक्त, भूपि शेरचन, तीर्थ श्रेष्ठ, रमेश श्रेष्ठ र पछिल्लो पुस्ताका भूपिन व्याकुल, रोशन शेरचन र सरस्वती प्रतीक्षालगायतका हस्तीहरुको चर्चित सहर हो यो ।

पौड्यालले तरुण तपसीबाटै एउटा मानक तयार पार्नुभयो । कवि शिरोमणिको उपमा पाउनुभयो । विसं २०२१ मा मुकुन्द शरणले सानै उमेरमा ‘प्राकृत पोखरा’बाट मदन पुरस्कार प्राप्त गरेर पोखराको नाम उँचो पार्नुभयो । जनकवि केशरी धर्मराज थापाले २०२३ सालमा मङ्गली कुसुमबाट सोही पुरस्कार प्राप्त गरी पोखरालाई साहित्यको केन्द्र हो भन्ने मान्यता स्थापित गर्नुभयो ।

तीसको दशक पोखरामा साहित्यिक जागरणको दशक बनेर आयो । सरुभक्त, तीर्थ श्रेष्ठ, प्रकट पङ्गेनी शिव, विजय बजिमय, विश्व शाक्य, नवराज कार्की, उषा शेरचनहरु नयाँ जोस बोेकेर आए । त्यो बेला उहाँहरुमा जाँगर त थियो तर सिर्जना सुनाउने मञ्च थिएन । त्यो खाँचो पूरा गर्न पोखरेली युवा सांस्कृतिक परिवार (पोयुसांप) को गठन भयो । पोयुसांपले स्रष्टाका निम्ति तयार पारेको मञ्चले २०३५ सालमा नै टिकट काटेर मुक्तक सुन्ने÷सुनाउने परम्पराको थालनी ग¥यो ।

त्यही समयमा उदाउनुभएका सरुभक्तले २०४८ सालमा ‘पागलबस्ती’ उपन्यासमार्फत फेरि मदन पुरस्कार प्राप्त गर्नुभयो । त्यसपछि भने अरु कुनै पनि सर्जकले पोखरामा मदन पुरस्कार भित्र्याउन सकेका छैनन् ।

गजल सन्ध्याका पूर्वअध्यक्ष रुपेन्द्र प्रभावी कटुका अनुसार अहिले पोखरामा पोयुसांप, गजल सन्ध्या, मुक्तक मञ्च, हेम्जा साहित्य प्रतिष्ठान, लेखनाथ साहित्य प्रतिष्ठान, शुक्ला साहित्य समिति, नवनित साहित्य समाज, कविता क्लब, कविता यात्रा, नमुना साहित्य समूह, संरक्षण कविता आन्दोलन, लोक कवि अली मियाँ लोक वाङ्मय प्रतिष्ठान, शुक्ला साहित्य प्रतिष्ठान, ¥याण्डम रिडर्स सोसाइटीलगायतका साहित्यिक सङ्घसंस्थाहरु क्रियाशील छन् ।

पोयुसांपले हरेक महिनाको पहिलो शनिबार समता काव्य सन्ध्याको आयोजना गर्छ । पाका र नयाँ पुस्ताका कविहरुको रचना वाचन काव्य सन्ध्याको विशेषता हो । गजल सन्ध्याले महिनाको दोस्रो शनिबार गजलवाचनको गजल सन्ध्या चलाउँछ । महिनाको तेस्रो शनिबार सोही संस्थाको आयोजनामा अक्षरयात्राअन्तर्गत विभिन्न ठाउँमा पुगी सोही ठाउँमा रचना सिर्जना र वाचन गरिन्छ । महिनाको अन्तिम शनिबार ¥याण्डम रिडर्स सोसाइटीले पुस्तक परिचर्चा कार्यक्रम सञ्चालन गर्छ । मुुक्तक मञ्चले हरेक शनिबार मुक्तक वाचनको शृङ्खला चलाउँछ । प्रगतिशील लेखक सङ्घ, गद्य लेखक सङ्घलगायतका साहित्यिक संस्थाहरुको सक्रियताले यहाँको वातावरण तातेकै हुन्छ ।

यति धेरै साहित्यिक गतिविधि भए पनि पछिल्लो समय पोखराका एकाध कवि र स्रष्टाबाहेक राष्ट्रिय साहित्यिक फाँटमा चर्चामा आउनेहरु कमै छन् । गतिविधि बढी र स्तरीय सिर्जना कम भएको छ, यतिबेला पोखरामा । “हिजो मञ्च थिएन, मेहनत बढी थियो, अहिले मञ्च छ, मेहनत छैन,” पोखराबाट स्तरीय साहित्य सिर्जना नभएको स्वीकार्दै कवि तीर्थ श्रेष्ठले भन्नुभयो – “साधनाभन्दा हल्लामा रमाउन थालेपछि यो अवस्था आएको हो ।”

कवि श्रेष्ठको विचारमा समानस्तरको रचना कुनै पनि लेखकबाट सम्भव छैन, हरेक लेखकमा एउटा मानक तयार गर्ने र त्यसकै दाँजोमा अरु सिर्जना गर्ने रहर हुन्छ । पोखराको हकमा पनि आफँैले लेखेका रचनाको भारले गर्दा आफँैलाई गाह्रो भएको उहाँले स्वीकार्नु भयो । आफ्नो कविता सङ्ग्रह तयार भए पनि छाप्न हिच्किचाएको स्वीकार्दै उहाँले थप्नुभयो – “मैले कविता सङ्ग्रह निकाल्नु जोखिम मोल्नु नै हो, आफँैले खडा गरेको चुनौतीको पहाड चढ्दा बुद्धि पु¥याउनैपर्छ ।”

‘पागलबस्ती’ लेखेर चर्चा कमाएका सरुभक्तको भनाइ भिन्न छ । म्याक्सिम् गोर्की भन्नासाथ आमा, लक्ष्मीप्रसाद देवकोटा सम्झनासाथ मुनामदन, पारिजात सम्झिँदा शिरीषको फूल र आफूलाई सम्झँदा ‘पागलबस्ती’को चर्चा हुने गरेको स्वीकार्दै उहाँले पाठकले बनाएको मानक सिर्जनाको हकमा मान्य नहुने धारणा राख्नुभयो ।

हरेक लेखकले उत्कृष्ट सिर्जना गर्ने लालसा पालेर बस्ने उहाँको भनाइ छ । उहाँले थप्नुभयो – “सर्जकले कृति जन्माउँछ तर पाठकले एउटा रचनामार्फत सर्जकको मानक बनाउँदैमा उत्कृष्ट लेख्ने तिर्सना भने मेटिँदैन ।” ‘पागलबस्ती’पछि आफूले त्योभन्दा राम्रा रचना सिर्जना गरे पनि चर्चा कम भएको उहाँको गुनासो छ ।

पोखराले लामो समयसम्म किन गतिलो साहित्यकार जन्माउन सकेन त रु भन्ने प्रश्नमा उहाँले भन्नुभयो – “पोखराका विभिन्न गतिविधिले नयाँ साहित्यकार जन्मिएका छन्, उनीहरु सङ्घर्ष गर्दैछन् र एक दिन उनीहरु राष्ट्रिय मूलधारमा अवश्य आउँछन् ।”

विक्रमाब्द ४० को दशकमा उदाएका कविहरु तीर्थ, प्रकट पङ्गेनीहरुको चर्चासँगै रमेश श्रेष्ठ चर्चामा रहनुभयो । बिम्बहरुको प्रयोग गर्दै उहाँले २०५५ सालतिर ‘चराहरुको पहाड’ सार्वजनिक गरे पनि बिम्बको नामका अत्यधिक क्लिष्टता पस्केको आरोपबाट उहाँ मुक्त हुनुहुन्न । पछिल्लो समय राष्ट्रियस्तरका पुरस्कार पाउनेमा उहाँ अग्रस्थानमा हुनुहुन्छ ।

“नयाँ पुुस्तामा पोखराको बिँडो थाम्ने खोइ रु,” स्वयम् कवि रमेश श्रेष्ठ आफँैसँग प्रश्न गर्नुहुन्छ र थप्नुहुन्छ – “हल्ला गर्दै हिँड्ने तर स्तरीयतामा ख्याल नदिई आफैँले लेखेको राम्रो हो भन्ने अहम्ले पोखरेली साहित्य खस्केको हो ।”

प्रगतिवादी मुक्तककार तथा नाटककार कृष्ण उदासीको बुझाइमा पोखराको साहित्य प्राविधिक बन्दै गएको छ । हार्दिकता, कोमलता, जीवन र जगत्को यथार्थ चित्रणको सट्टा उपकरणको समीकरण मिलाउने प्रवृत्तिले पोखराको साहित्य खस्केको उदासीको बुझाइ छ । “यहाँ गुणस्तरीय साहित्य पढिँदैन र पुरस्कारले कृतिको स्तरीयता मापन हुँदैन” – उहाँले थप्नुभयो ।

पछिल्लो समय चर्चित कवि सरस्वती प्रतीक्षाले पनि पोखराको साहित्यमा गुणस्तरीयता कम भएको स्वीकार्नु भएपनि स्तरीय रचना सिर्जना नभएको भन्ने चाहिँ स्वीकार्नुभएन । “यहाँ एउटै दिनमा थुप्रै कार्यक्रम हुन्छन् तर कार्यक्रममा प्रस्तुत हुने रचनामा भने गुणस्तरीयता कम नै हुन्छन्,” प्रतीक्षाले भन्नुभयो । उहाँले रहरले लेख्ने धेरै र रहर पुगेपछि अर्को क्षेत्रमा लाग्नाले पनि स्तरीय साहित्य सिर्जना हुन नसकेको धारणा राख्नुभयो । सिर्जनाका लागि प्रतिभा नै चाहिने धारणा राख्नुहुने उहाँले नारी हस्ताक्षरको कमी हुनुमा लगनकै कमी भएको तर्क गर्नुभयो ।

पोयुसांपका पूर्व सदस्य विभु भुसालको विचारमा पोखराको साहित्य यति बेला अग्रजले खाएको भाङको नसामा मस्त छ । “अग्रजले भजन मण्डली तयार गर्ने अनि अनुज पुस्ता भजन गाउनमै रमाउने जस्तो पनि देखिएको छ” – उहाँले भन्नुभयो ।

कवि तीर्थ श्रेष्ठ अहिले पनि राम्रा कविता लेख्नुहुन्छ । चालीसको दशकको सेरोफेरोमा उहाँले लेख्नुभएका र ५० को दशकमा प्रकाशित कविता सङ्ग्रह ‘तीर्थ श्रेष्ठका कविताहरु’मा समेटिएका कविताले राष्ट्रिय चर्चासँगै कविताको एउटा मानक तयार भयो । “शब्दलाई खेलाउने कुशल शिल्पी नै उहाँको विशेषता हो” – चर्चित गजलकार ईश्वरमणि अधिकारीले भन्नुभयो । आख्यान बढी चर्चामा रहेका बेला पोखराको पहिचान कविताको चर्चा कम हुनु अस्वाभाविक नभएको उहाँको तर्क छ ।

त्यसो त, गजलमा दीपक समिप, कवितामा ईश्वरमणि अधिकारी, सरस्वती प्रतीक्षालगायतका सर्जकको रचनाले राष्ट्रिय चर्चा बटुल्दै आएका छन् । पछिल्लो समय चर्चित सरस्वती प्रतीक्षाहरु आशालाग्दो प्रतिभा भएको कवि तीर्थ श्रेष्ठको दाबी छ । पूर्वमा विराटनगर, झापा एवम् राजधानीसँग प्रतिस्पर्धा गर्न पोखरा तयार रहेको जिकिर गर्दै उहाँले साहित्यकार समय प्रवाहले जन्माउने भएकाले यहाँबाट पनि विश्वस्तरका साहित्यकार निस्कने आशा व्यक्त गर्नुभयो । रासस