ग्यासको सहज आपूर्ति गर्न विभिन्न निकायलाई संसदीय समितिको निर्देशन

काठमाडौँ, १७ फागुन । संविधानसभा÷व्यवस्थापिका–संसद्अन्तर्गतको उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिले लिक्विड पेट्रोलियम (एलपी) ग्यास आपूर्तिको सहज व्यवस्था मिलाउन सरकारका विभिन्न निकायलाई कडा निर्देशन दिएको छ ।

समितिका सभापति भीष्मराज आङ्देम्बेको अध्यक्षतामा आज भएको बैठकले ग्यास आपूर्तिका लागि सिलिन्डर नियन्त्रित एवम् व्यवस्थित गर्न तथा नयाँ सिलिन्डर नेपाल आयल निगमको अनुमतिबेगर ल्याउन नपाउने कानुनी व्यवस्थाका साथै सिलिन्डरको सङ्ख्या यकिन गर्न आन्तरिक राजस्व विभाग, भन्सार, वाणिज्य तथा आपूर्ति मन्त्रालय, निगम, गुणस्तर तथा नापतौल कार्यालय, वाणिज्य विभाग र सम्बन्धित व्यवसायी सङ्घका प्रतिनिधिको सहभागितामा संयन्त्र निर्माण गर्न निर्देशन दिएको हो ।

एपली ग्यासको आपूर्ति सहज तुल्याउन आवश्यक पर्ने व्यवस्था मिलाउन निगमले आवश्यक कार्य गर्नुपर्ने र आपूर्ति सहज नहुन्जेल विद्यमान आपूर्ति प्रक्रियालाई नै निरन्तरता दिन समितिले वाणिज्य तथा आपूर्ति मन्त्रालय र निगमलाई निर्देशन दिएको छ ।

ग्यास उद्योगहरुको अवस्था, ती उद्योगले उपभोक्तालाई पु¥याएको सेवा, वितरण प्रणाली, कोटासम्बन्धी विषयलगायत अध्ययन गर्न पूर्वाञ्चलका साथै अन्य विकास क्षेत्रको समेत अध्ययन भ्रमण एवम् सुझाव सङ्कलन गर्नुपर्ने भएकाले त्यस निम्ति सभामुखबाट स्वीकृति लिन समितिको बैठकले निर्णय गरेको छ ।

उपभोक्ताको हित र उद्योग वाणिज्य क्षेत्रका सम्बन्धमा समितिका सदस्यको टोलीले यही महिनाको अन्तिम साताबाट उपत्यका बाहिरका जिल्लाहरुको भ्रमण गर्ने निर्णय पनि समितिले गरेको छ । रासस