‘काठमाडौँले नचिनेको’ मध्यपश्चिमका तस्बिर

काठमाडौँ, २९ फागुन । फोटो पत्रकार बालकृष्ण थापाले मध्यपश्चिमका विभिन्न जिल्लाका जनजीवन र पर्यटकीय दृष्यलाई केन्द्रित गरी खिंच्नुभएका तस्बिर प्रदर्शनी आजदेखि नेपाल पर्यटन बोर्डमा सुरु भयो ।

प्रदर्शनीमा दाङ, रुकुम, रोल्पा र प्युठानका गरी छानिएका ४० तस्बिर राखिएका छन् । प्रदर्शनी भृकुटीमण्डपस्थित बोर्ड र हनुमानढोका (वसन्तपुर) मा गरी पाँच दिन सञ्चालन हुनेछ । थापाले गत वर्ष सुदूरपश्चिमका तस्बिर सङ्कलन गरी ‘खप्तडमालिका’ शीर्षकमा तस्बिर प्रदर्शन गर्नुभएको थियो ।

बोर्डको सहकार्यमा सञ्चालित ‘तराई–पहाड फोटो प्रदर्शनी’ को राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा गोविन्दराज पोखरेलले उपस्थित फोटो पत्रकारको तस्बिर खिंची उद्घाटन गर्दै विकासमा पछाडि परेको मध्यपश्चिम क्षेत्रको जनजीवन, त्यहाँको पर्यटकीय सम्भावना र स्रोत परिचालनसँग सम्बन्धित तस्बिरले वस्तुगत योजना बनाउन सहयोग पुग्ने बताउनुभयो ।

एकीकृत नेकपा(माओवादी)का नेता जनार्दन शर्माले काठमाडौँले नचिनेको मध्यपश्चिमका अझ धेरै त्यस्ता जनजीवनलाई उजागर गर्न प्रदर्शनी सहयोगी हुने विश्वास व्यक्त गर्नुभयो ।

पत्रकार थापाले राजधानी केन्द्रित पर्यटनको प्रचलनलाई तोड्न सो प्रदर्शनी गरिएको जानकारी दिनुभयो ।रासस
–––––––––––