सामान्य विषयको गहन कथा ‘जिम्दा सपना’

काठमाडौँ, १२ चैत । दिनहुँ हजारौँको सङ्ख्यामा नेपाली युवा विदेशिन्छन् । सयौँको सङ्ख्यामा मृत्यु भइरहेको समाचार पनि आइ नै रहेका हुन्छन् ।

दिनहुँ सुनिरहँदा र पढिरहँदा सामान्य लाग्ने यी विषय आफूलाई पर्दा कस्तो हुन्छ ? यसको जवाफ दिने कोसिस कालिकास्थानस्थित सर्वनाम थियटरमा मञ्चन भइरहेको नाटक ‘जिम्दा सपना’ ले गरेको छ ।

राज शाहको लेखन तथा निर्देशन रहेको सो नाटक स्वदेशमा काम नपाएर विदेशिनु परेको युवाको कथालाई लिएर बनाइएको छ । आफू र आफ्नो परिवारलाई सुख दिने सपना बोकेर विदेशिने एक युवाको सपनाले वर्तमान नेपाली युवाको सपनालाई प्रतिनिधित्व गरेको छ ।

कथामा विवाह गरेको २० दिनमा नै विदेशिएका एक युवाले कम्पनीमा काम गर्छु भनेर परिवारलाई ढाँटेको हुन्छ । म्यानपावर कम्पनीको बद्मासीका शिकार बनेका ती युवा विदेशमा घर बनाउने काममा लागेका हुन्छन् । काम गर्ने क्रममा एक दुर्घटनामा परी उनको मृत्यु हुन्छ । अवैधानिक रुपमा विदेशमा लुकेर बसेकाले उनको शव ल्याउन समेत मुश्किल हुन्छ । तर जब शव आइपुग्छ, तब शवको टाउको हुँदैन ।

नाटकको अन्त्यमा देखाइने यो दृश्यमा सबै दर्शकको आँखा रसाउँछ । बुढा भएका बाबुआमा, गर्भवती श्रीमतीलाई सुख दिने कल्पनामा विदेशिएका ती युवाको अत्यमा शव आइपुग्छ ।

नाटकमा लेखक तथा निर्देशक शाह, अर्जुन न्यौपाने, दीपेश पौडेल, आदित्य शर्मा, एमरल्ड विश्वदीप, शिशिर सिवाकोटी, डिकेश महर्जन, सविना गोपाली, सुप्रिया रानामगर, सिमोन खड्का, सीता रानामगर, विकास लम्साल, प्रणव चौधरी, अर्पण बस्नेत र वसन्त पोखरेलको अभिनय छ । पश्चिम नेपालमा बोलिने लवजलाई नाटकमा प्रयोग गरिएको छ ।

निर्देशक शाहका अनुसार सो नाटक लेख्न मात्र दुई वर्ष लागेको थियो । गत फागुन २९ गतेदेखि मञ्चन थालिएको सो नाटक यही चैत १४ गतेसम्म चल्नेछ । रासस