जापानको संवेदनशील सैन्यसामान्यीकरण

न्युयोर्क, ५ चैत । जनवरीमा इस्लामिक स्टेटले दुई जापानी पत्रकार हारुना युकावा र केन्जी गोतोको क्रूर हत्या गरेपछि प्रधानमन्त्री सिन्जो आबेले मुलुकको सेनाको छविमा द्वितीय विश्वयुद्धपछि ‘सबैभन्दा ठूलो सुधार’ गर्न आह्वान गर्नुभयो । चुनौती आउँदा आफ्ना अभिरुचि तथा नागरिकको सुरक्षा गर्ने क्षमतासहित जापानलाई पुनः ‘सामान्य’ मुलुक बनाउन प्रधानमन्त्री आबेले चाहनुभएको छ । तर, यो कुरा प्राप्त गर्न उहाँको सरकार कसरी अगाडि बढ्नुपर्छ त ?

द्वितीय विश्वयुद्धपछि मुलुकको शान्तिवादलाई सामान्यतया समर्थन गरे पनि बन्धक सङ्कटले जापानी जनतालाई हतोत्साहित बनाएको छ । कम्तीमा पनि यसले जापानको सैनिक दुर्बलता उजागर गरेको छ । जोर्डनले आफ्ना बन्धकका लागि उद्धार अभियानका विषयमा सोचेको थियो भने उसको हत्यापछि शक्तिशाली सैनिक प्रतिक्रिया व्यक्त गरेको थियो । यसको विपरीत जापानको संविधानले उद्धार तथा प्रत्याक्रमणका लागि विकल्प छोडेको छैन ।

अमेरिकी नियन्त्रणमा सन् १९४७ मा लागू भएको जापानी संविधानको धारा ९ ले सेना कायम गर्न वा अन्तर्राष्ट्रिय द्वन्द्व समाधान गर्न मुलुकलाई निषेध गरेको छ । यसपछिका वर्षमा धारा ९ को व्याख्यालाई उदार बनाइए पनि र जापानले अहिले निकै क्षमतायुक्त आत्मरक्षार्थ बल कायम गरे पनि संवैधानिक सीमितताले जापानको सैनिक क्षमता तथा तथा छविलाई अधिक रूपमै कमजोर बनाइरहेको छ ।

यस विषयमा सुनिश्चित हुन अमेरिकासँग जापानको सन्धि गठबन्धनले उसलाई सुरक्षा प्रदान गर्छ । तर बढी हठी चीन, पारमाणविक हतियारयुक्त उत्तर कोरिया, विदेशमा जापानी नागरिकको हत्या गर्ने चेतावनी दिने इस्लामिक स्टेट जस्ता जापानले व्यहोरिरहेका जोखिमले आफ्नै प्रतिरक्षा गर्न उसलाई बढी स्थान चाहिन्छ कि चाहिँदैन भन्ने वैधानिक प्रश्न उठाएको छ ।

यी कुरा अनेकौँ तरिकाले प्राप्त गर्न सकिन्छ । उदाहरणका लागि जापानले सामान्य रूपमा आफ्नो प्रतिरक्षा बजेट निरन्तर रूपमा बढाउन सक्छ, विद्यमान संविधान विस्तार गर्न सक्छ र सामूहिक सुरक्षा बलियो बनाउन सक्छ, जापानको विशेष सेनाको क्षमता विस्तार गर्न सक्छ र राष्ट्रिय जनमत सङ्ग्रह गरी डायटको दुवै सभामा मतदान गराई धारा ९ खारेज गर्न सक्छ । विशेष व्यवस्था गरे पनि अन्य मुलुक झैँ आफ्नो क्षेत्र तथा जनताको सुरक्षा गर्न सक्षम हुने जापानको अधिकार छ ।

सैनिक क्षमता बढाउँदा विशेषगरी चीन तथा कोरियाले बलियो रूपमा विरोध गर्नेछन् । यी मुलुकले जापानको अमेरिकासँगको गठबन्ध र जापानको सबै सुरक्षा आवश्यकता अमेरिकाले पूरा गर्ने कुरालाई जोड दिन्छन् । आफ्नो औपनिवेशिक तथा युद्धको अवस्थाबाट जापान अझै पूर्णरूपमा बाहिर नआएको आरोप उनीहरूले लगाउने गरेका छन् ।

अमेरिकी सुरक्षाबाट जापानले निश्चय नै धेरै फाइदा प्राप्त गरेको छ । जापानको अभिरुचि तथा विशेषगरी चीनसँग द्वन्द्वमा अमेरिकाले अनिश्चित कालसम्म निरन्तर रूपमा जापानको प्रतिरक्षा गर्नेछ भन्ने कुनै प्रत्याभूति हुन सक्दैन । अमेरिकाभित्रै एकलवादको मानसिकता वृद्धि भइरहेका अवस्थामा मध्यम तथा दीर्घकालसम्म एसियाको सुरक्षा व्यवस्थामा अमेरिकाको प्रभावशाली अवस्था कायम गर्न सक्ने क्षमताका विषयमा प्रश्न गर्नु उचित भए पनि वा नभए पनि यसले अस्ट्रेलियाजस्ता निष्ठावान सहयोगीसहित क्षेत्रीय सहयोगी तथा साझेदारलाई आफ्नै रणनीतिक दाबी अगाडि बढाउन अभिप्रेरित गरेको छ । जापानले पनि यस्तै चासो राखेको कुरा तर्कपूर्ण हुन्छ ।

यसैगरी, द्वितीय विश्वयुद्धअघि जापानी व्यवहार अस्वीकार गर्नै नसकिने गरी क्रूर भए पनि सन् १९४५ पछि उसका क्रियाकलाप तथा संयुक्त राष्ट्र सङ्घ तथा अन्य बहुपक्षीय संस्थाहरूमा उसको समर्थन तथा विकासशील मुलुकलाई उपलब्ध गराएको मार्गदर्शन तथा सहयोग उदाहरणीय छन् ।

चीनको व्यापक सैनिक क्षमता तथा क्षेत्रीय उग्रता वा उत्तर कोरियाको यद्धप्रियता तथा पारमाणविक हतियारले क्षेत्रीय स्थिरतालाई चुनौती दिएभन्दा बढी सामान्यीकृत जापानले चुनौती दिन्छ भन्नु सजिलै विश्वास गर्न सकिने कुरा होइन । चीन एक पक्षीय व्यवहारबाट सोझै अगाडि बढिरहेको अवस्थामा वास्तवमा सामान्यीकृत जापानले शक्ति प्रणालीमा सन्तुलन कायम गर्न महत्वपूर्ण भूमिका खेली क्षेत्रीय सुरक्षालाई विस्तार गर्न सक्ने देखिन्छ ।

यी सबै कुराबीच जापानले सैनिक सामान्यीकरणमा अगाडि बढ्ने निर्णय गरे उसले आफू इतिहासबाट बाहिर आइसकेको कुरालाई बढी बुझाउने गरी प्रदर्शन गर्नुपर्छ नत्र उसका प्रयास अनावश्यक रूपमा कमजोर हुने जोखिम रहन्छ ।

जापानले आफ्नो विगतप्रति प्रायश्चित गर्न पटकपटक माफी मागेर र विकास सहयोग उपलब्ध गराएर महत्वपूर्ण प्रयास गरे पनि पछिल्ला समयमा उसका केही नेताले देखाएको संशोधनवादी तथा असंवेदनशील क्रियाकलापका कारण उसका छिमेकीसँग ऐतिहासिक तनाव पुनःजीवित भएको छ । यस्तो काम अन्त्य हुनुपर्छ ।

आरम्भका लागि जापानी नेताले टोकियोको यासुकुनी मन्दिर नजाने सपथ लिनुपर्छ वा उसले यस मन्दिरमा १४ जना ‘क’ वर्गका युद्धअपराधीका आत्माप्रति दिइएको सम्मानलाई अन्यत्र लग्ने कुनै सिर्जनात्मक उपाय खोज्नुपर्छ ।

यसैगरी युद्धका समयमा यौनदासत्वका दाबीलाई अस्वीकार गर्नु सट्टा जापानी राजकीय सेनालाई यौनजन्य सेवा प्रदान गर्न बाध्य बनाइएकी कोरिया तथा अन्यत्रबाट ल्याइएकी ‘कम्फर्ट विमन’प्रति सम्मान व्यक्त गर्न जापान सरकारले टोकियोको मध्य भागमा वा सम्भव भए राजप्रासादको परिसरमा स्मारक निर्माण गर्नुपर्छ । अधिकारीहरू द्वन्द्वग्रस्त क्षेत्रमा महिलालाई संरक्षण गर्ने उपाय खोज्न विश्वका नेताहरूलाई भेला गरी वार्षिक रूपमा सम्मेलन आयोजना गर्न सक्छन् ।

अन्त्यमा दोस्रो विश्वयुद्धमा जापानले गरेको क्रियाकलापको अमेरिकी पाठ्यपुस्तकमा भएका व्याख्याको विरोध गर्ने वा नानजिङ आमहत्यामा मारिएका जनताको सङ्ख्याका विषयमा अनावश्यक तर्क गर्नेभन्दा जापानले आफ्ना नागरिकलाई उनीहरूको मुलुकले युद्धका समयमा गरेका कार्यका बारेमा बुझ्न र त्यसलाई मनन गर्न सहयोग गर्न खोज्नुपर्छ । े

अन्य मुलुक विशेषगरी चीनसँग जापान विरोधी प्रचारप्रसार गर्ने बलियो घरेलु राजनीतिक उद्देश्य हुन सक्छ तर जापानले आफ्नो इतिहासलाई बढी संवेदनशील भएर व्यवहार गर्दा यस्ता विषयलाई अनावश्यक रूपमा विवादमा ल्याउने काम कम्तीमा रोक्न सकिन्छ ।

दोस्रो विश्वयुद्धपछि विश्वव्यापी शान्ति तथा सुरक्षामा दिएको व्यापक योगदानका साथै जापानको प्राप्तिको निकै ठूलो मूल्य हुन्छ । यसो भए पनि जापानले सैनिक छवि परिवर्तन गर्ने मूल प्रयासका रूपमा आफ्नो इतिहासलाई संवेदनशील रूपमा उपचार नगरेसम्म एउटा बढी सुरक्षित भविष्यको मार्गमा उसको विगत बाधाका रूपमा आउन सक्छ ।

(जेमी मेटजेल एटलान्टिक काउन्सिलका वरिष्ठ अध्येता तथा ‘जेनेसिस कोड’का लेखक हुनुहुन्छ । क्लिन्टन प्रशासनमा उहाँले अमेरिकी विदेश विभागअन्तर्गत अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्मा रही सेवा गर्नुभएको थियो ।