सुनामीबाट जोगिन जापानले सामुद्रिक तटमा ठूलो तथा महङ्गो पर्खाल निर्माण गर्ने

सेन्दाइ (जापान), १० चैत । जापानको उत्तरपूर्वी तटीय क्षेत्रमा अग्लो सुनामी छाल आएको चार वर्षपछि यस मुलुकले करिब पाँच तल्ले भवनको उचाइ भएको करिब ४०० किलोमिटरको सिमेन्टको सामुद्रिक पर्खाल निर्माणमा आफ्नो ध्यान केन्द्रित गरेको छ ।

आठ सय २० अर्ब एन (६.८ अर्ब अमेरिकी डलर) को लागतमा तयार हुने यस परियोजनाका विरोधीहरूले भने यो व्यापक कङ्क्रिट पर्खालले सामुद्रिक पर्यावरण तथा स्थलगत सुन्दरतामा क्षति पु¥याउने, आधारभूत माछापालनमा बाधा उत्पन्न गर्ने तथा यहाँका प्राय बासिन्दा माथिल्लो भागमा बसाइ सराइ गर्ने तयारीमा रहेकाले उनीहरूलाई संरक्षण गर्ने कुरामा खासै फाइदा नहुने बताएका छन् ।

यस परियोजनाका समर्थकले यो पर्खाल आवश्यक रहेको र यसले कम्तीमा केही समयका लागि रोजगारी उपलब्ध गराउने बताएका छन् ।

उत्तरी माछाव्यवसाययुक्त ओसाबेका काजुतोसी माुसासीले १२.५ मिटर (४१ फिट) अग्लो पर्खालले समुद्रको दृष्य छेकिदिने बताए ।

यस्तो सार्वजिनक निर्माण सत्ताधारी लिबरल डेमोक्र्याटिक पार्टी तथा उसका समर्थकका लागि प्रमुख रणनीतिक परियोजना हो ।

विशेषज्ञहरूले यस परियोजनाले सुनामीले पार्ने प्रभाव कम बनाए पनि यसले जटिलता उत्पन्न गराउने बताएका छन् । सन् २०११ मा आएको सुनामीको समयमा भाग्नका लागि दिइएको चेतावनीलाई ध्यान नदिँदा १८ हजार ५०० व्यक्तिको मृत्युभएको थियो ।

नौ रेक्टर स्केलको भूकम्पका कारण आएको सुनामीका कारण सेन्दाइको आधा भाग डुबेको थियो ।

वर्षौ अगाडि इवानुमाको तटीय क्षेत्रमा भूक्षय रोक्न बनाइएको २४ फिट अग्लो पर्खाल तथा तटमा लहरै रोपिएका देवदारका रुखले उक्त छाललाई मत्थर बनाउन त सकेका थिए तर त्यहाँका तटभित्रका पाँच किलोमिटरसम्म बाढी आएको थियो । सुनामीको समयमा विमानस्थलका छत तथा ठूला घरको छतमा रहेका यात्री तथा कर्मचारीले गाडी, भवन, विमान बगेको देखेका थिए ।

यस नगरले भत्केका पर्खालको मर्मत त गरेको छ तर पर्खाल बढाउने योजना बनाएको छैन । पूर्व प्रधानमन्त्री मोरिहिरो होसोकावाले मानव निर्मित पर्खालपछि विभिन्न रुख रोपी हरित पर्खाल बनाउने योजना बनाउनुभएको थियो ।

इवानुमाका पूर्व मेयर त्सुनिकी इगुचीले सामुद्रिक तटमा ठूलो पर्खाल लगाउनुभन्दा सबैजनालाई तत्कालै त्यहाँबाट अन्यत्र लैजाने उपाय गर्नु उचित हुने बताउनुभयो ।

संयुक्त राष्ट्र सङ्घका विपत्ति जोखिम न्यूनीकरण कार्यालयका प्रमुख मार्गरेता वाल्सट्रमले विकासशील मुलुकमा आधारभूत संरचनाको अभावमा निकै ठूलो क्षति भए पनि यस्तो सुरक्षा व्यवस्थामा भरपर्ने कुराले समुदायलाई असावधान बनाउने बताउनुभयो ।

सन् २०११ मा सुनामी जाँदा स्टिलनिर्माता नगर कामाइसीमा १००० भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो । तर सिभिल इन्जिनियरिङका प्राध्यापक तोसिताका कातादाले दिनुभएको तालमिका कारण भने प्रायः विद्यालयका विद्यार्थीलाई तत्कालै सुरक्षित स्थल लगिएको थियो । रासस