सुशीलाको ‘फेसन डिजाइन’ दार्जिलिङ र सिक्किमसम्म फैलिँदै

काँकडभिट्टा ९झापा०, १३ चैत । काँकडभिट्टास्थित ‘सहेली वुमन्स हाउस’ पुग्दा जो कोहीले यसलाई सामान्य सिलाइ बुनाइ गर्ने ठाउँ होला भन्ने सम्झन्छन् । यहाँ पस्नासाथ धेरै महिला मेसिनमा कपडा खुटिरहेका भेटिन्छन् । ग्राहकहरू सिलाइको ‘अर्डर’ दिइरहेका हुन्छन् । मेसिन चलेको खट्खट् आवाजका बीच अर्की एक महिला ‘यसरी र उसरी’ भन्दै पोसाकका विभिन्न डिजाइन सिकाइरहेकी हुन्छिन् ।

डिजाइन सिकाउने ती महिला हुन् सुशीला अग्रवाल । पछिल्लो एक दशकमा उनले ‘फेसन डिजाइन’को दुनियाँमा देखाएको खुबीको प्रशंसा यतिबेला मुलुकभित्र मात्र होइन, भारतको दार्जिलिङ र सिक्किमसम्म फैलिसकेको छ ।

“मलाई आफ्नो कामभन्दा अरू विषयमा त्यति चासो छैन,” हालै उनकै कार्यथलोमा भेट्दा सुशीलाले रासससँग भनिन्, “सिलाइ बुनाइमै मेरो मन रमाउँछ ।” उनको भनाइले नै उनी आफ्नो काममा धेरै लगाव राख्छिन् भन्ने प्रस्ट देखाउँछ ।

बिहान ७ बजे हाउसमा पुग्ने उनी बेलुकी ७ बजेसम्म त्यहीँ काममा व्यस्त हुन्छिन् । जति धेरै समय लगाएर काम ग¥यो त्यति धेरै व्यापार । उनको यो लगनशीलता अरूका लागि उदाहरण बन्न सक्छ । कामबिनाको घुमफिर र गफगाफमा उनको रुचि छैन । भन्छिन् – “बाहिरफेर घुम्ने फुर्सदै हुँदैन ।”

सहेली हाउसमा सबै उमेरका महिलाको पहिरनको सुन्दर डिजाइन र सिलाइ हुन्छ । उनी यसका मालिकका साथसाथै प्रशिक्षक हुन् । मागबमोजिम साडी, चोली, कुर्तासलवारलगायतका पहिरनको डिजाइन गर्ने र सिलाउने काम त्यहाँ हुने गर्छ । त्यसबाहेक सीप सिक्न चाहने महिलालाई सुशीलाले व्यवस्थित रूपमा प्रशिक्षणसमेत प्रदान गर्दै आएकी छन् । उनको कुशलताले उनलाई एउटी चर्चित ‘फेसन डिजाइनर’को परिचय दिलाएको छ ।

मेचीनगर–१० काँकडभिट्टाको बसपार्कबाट ५०० मिटर उत्तरको भट्टराई चोक नजिक अर्थात् मुख्य बजारबाट अलि टाढा आफ्नै घरमा उनले सहेली वुमन्स हाउस खोल्दा केही शुभचिन्तकले “यस्तो अनकन्टारमा व्यवसाय चल्दैन” भन्ने सुझाव दिँदै बजारतिरै कार्यालय सार्न दबाब दिएका थिए रे १ तर अहिले उनको हाउसमा कपडा सिलाउन लगाउन ग्राहकहरू धरान, विराटनगर र सिलगढीबाट धाएर आएको देख्दा ‘चल्दैन होला’ भनेर चिन्ता व्यक्त गर्ने शुभचिन्तकहरू छक्क पर्दै जिब्रो टोक्छन् ।

एक वर्षअघिसम्म काँकडभिट्टाको मिनी मार्केटमा भाडामा पसल लिएर काम गर्दै गरेकी सुशीलाले घरको रेखदेख पनि हुने ठानेर आफ्नै घरमा यो व्यवसाय सारेको बताइन् । भयो पनि त्यस्तै । अहिले उनले घरको रेखदेख र कार्यालयको काम सहजै भ्याएकी छन् ।

दुई छोरीकी आमा सुशीलाका पति रोशन अग्रवाल व्यापार र राजनीतिमा क्रियाशील छन् । पतिले फेसन डिजाइनको काममा प्रोत्साहन दिएका कारण आफूले सबै समय यसैमा दिन पाएको सुशीलाको भनाइ छ ।

सत्र वर्षअघि रोशनसँग घरजम गरेकी सुशीलाले विदेशी सामान बेच्ने पसलमै सिलाइ मेसिन राखेर काम सुरु गरेकी थिइन् । “पैसा थिएन,” त्यसबेलाको अवस्था सम्झिँदै उनी भन्छिन् – “दुःख गरेर चार हजार भारुमा एउटा मल्टी पर्पोज मेसिन किनेर पसल खोलेकी थिएँ ।” त्यो बेला काँकडभिट्टामै ‘पिको’ गर्ने सिलाइ मेसिन उनको मात्र थियो ।

“मसँग कला थियो, साथीभाइका एक दुई वटा गर्दै कपडा सिलाउन थालेँ,” उनी भन्छिन् – “विस्तारै अरू पनि आउन थाले अनि रातभरि उहाँ ९पति०ले नानी हेर्नुहुन्थ्यो म कपडा सिलाउने र डिजाइन गर्ने काम गर्थें ।”

उनी यो क्षेत्रमा लाग्नुका पछाडि आफ्नी आमाको प्रेरणा भएको बताउँछिन् । “यो सब गर्न सकेको मैले मेरी दिवङ्गत आमाको कृपाले हो,” उनकी आमा लक्ष्मी अग्रवाल पनि फेसन डिजाइनर नै भएको बताउँदै सुशीला भन्छिन् – “आमाले घरमै गरेको डिजाइन देखेर सानैदेखि सिकेकी हुँ ।”

यतिबेला छ जना महिलालाई उनले आफ्नो पसलमा रोजगारी दिएकी छिन् । उनको डिजाइनमा सिलाइएका ब्लाउजहरूको ज्याला नै रु २०० देखि रु आठ हजारसम्म पर्ने गर्छ तर कच्चा पदार्थ खरिद गर्न भारतको दिल्ली नै पुग्नुपर्ने भएको उनी गुनासो गर्छिन् । नेपालमा भेल्भेटबाहेक अरू कच्चा पदार्थ नपाइने उनी बताउँछिन् ।

फेसन डिजाइनबाट मनग्य आयआर्जन हुने उनी बताउँछिन् । आफ्नो आम्दानीसँगमात्र होइन अरू महिलालाई सीप सिकाएर स्वरोजगार बनाउन पाएकामा उनी हर्षित छिन् ।

भारतको हरियाणामा स्नातक अध्ययन गरेकी सुशीला जागिरको बन्देजमा बाँधिनुभन्दा स्वतन्त्र भएर व्यवसाय नै गर्नु राम्रो भनेर १५ वर्षअघि फेसन डिजाइनको क्षेत्रमा होमिएको बताउँछिन् । अहिले उनी आफूले गरेको निर्णय सही भएकामा सन्तुष्ट छिन् ।

कपडा सिलाइ बुनाइ सङ्घ मेचीनगरकी उपाध्यक्ष रहेकी सुशीलाले फेसन डिजाइनको स्वअध्ययन गरेकी हुन् । उनी नेपाली बजारमा बढेको मागलाई मध्यनजर गर्दै मौलिक डिजाइन गर्न र विश्वका प्रचलित मोडलहरूले लगाउने गरेका नयाँ डिजाइनहरू बनाउन खप्पिस छिन् । इन्टरनेटबाट डाउनलोड गरेर त्यहीअनुसारका डिजाइन बनाउने गरेको उनी बताउँछिन् ।

‘महिला घरको कामका लागि मात्र हुन्’ भन्ने कुरालाई पछिल्लो समय चुनौती दिँदै यहाँका महिला व्यावसायिक हुन थालेका छन् । कम जोखिम भएका काम तथा व्यवसायमा मात्र महिलालाई योग्य ठानिँदै आएको नेपाली समाजमा आफ्नै नेतृत्वमा पृथक धारको व्यवसाय हाँक्ने सक्षम महिलाको सङ्ख्या बढ्दै गइरहेको छ ।

“दुनियाँले चिन्न थाले तपाईंलाई” भनेर उनलाई हौस्याउनेहरू यतिबेला धेरै छन् । “मानिस क्षमता, सीप र मेहनतले सफल हुन्छन्,” यसरी हौस्याउने महिला साथीहरूलाई उनी सम्झाउने गर्छिन् – “बेकारमा घरमा समय गुजार्नुभन्दा कुनै रुचिको काममा लागे तपाईंहरू पनि सफल बन्न सक्नुहुन्छ ।” रासस