अम्बानीलाई टक्कर दिने संघवी

काठमाडौ,२४ फाल्गुन । वर्षौंदेखिको व्यावसायिक साम्राज्य भएका अम्बानीलाई टक्कर दिँदै अर्का व्यापारी दिलीप संघवी सार्वधिक धनी भारतीय बनेका छन् । फोब्र्सको सूचीमा रहेका दुवैबीच सेयर बजारको उतारचढावले प्रतिस्पर्धा भएको हो । सेयर मूल्यमा आएको वृद्धिका कारण यो साता दिलीपले ८ वर्षदेखि सर्वाधिक धनी भारतीयको सूचीमा नाम लेखाएका मुकेश अम्बानीलाई उछिनेका हुन् ।

Dhani

फोब्र्सले यस वर्ष सार्वजनिक गरेको सूचीमा अघि रहेका अम्बानीभन्दा संघवीको सम्पत्ति यो साताभर बढी देखिएको छ । शुक्रबार संघवीको सम्पत्ति २२ अर्ब २० करोड डलर बराबर पुगेको छ । त्यही समय अम्बानीको सम्पत्ति भने २० अर्ब ३० करोड डलर बराबर देखिएको छ ।

पारिवारिक व्यवसायबाट विभिन्न क्षेत्रमा उद्योग चलाइरहेका अम्बानीभन्दा आफ्नै मेहनतले औषधि उद्योग चलाइरहेका संघवी धनी भएका हुन् । दिलीप सन फार्मा नामक कम्पनीका प्रवर्द्धक हुन् । जुन विश्वको दोस्रो ठूलो जेनरिक औषधि उत्पादन गर्ने कम्पनी हो ।

यो कम्पनीमा १४ हजारभन्दा बढीले रोजगारी पाएका छन् । लिथोसन नामक एउटा मात्र औषधि उत्पादनबाट सुरु भएको उद्योगले हाल ४० मुलुकमा २ सय प्रकारका उत्पादनको बिक्री गरिरहेको छ । गुजरात घर भएका दिलीप अध्ययनका लागि मुम्बई जाने गरेका थिए । यही क्रममा उनले अध्ययन कलकत्ता तर्फ मोडेका थिए । कलकत्तामा रहँदा उनले सानो औषधि पसलबाट व्यवसाय थालेका थिए । अरूको औषधि बिक्री गर्नभन्दा आफैं उत्पादन सुरु गर्ने सोच आएपछि उनले १९८२ मा कम्पनी स्थापना गरेका थिए । १० हजार रुपैयाँ लगानी र ५ कर्मचारीसहित कम्पनी खुलेको थियो । पहिलो वर्ष कम्पनीले ७ लाखको कारोबार गरेपछि उनी हौसिए । अनि पैसा सापटी खोजेर उनले गुजरातमा कारखाना स्थापना गरे । कम्पनी स्थापना गरेको ११ वर्षपछि उनले भारतकै पहिलो औषधि अनुसन्धान र विकास केन्द्र पनि स्थापना गरे । उक्त वर्ष कम्पनीको नाफा ४ करोड भएको थियो । उदारीकरण पछि उनको कम्पनी बढ्ने क्रम जारी रह्यो । १९९४ मा दिलीपले आफ्नो कम्पनीको सेयर सर्वसाधारणलाई बिक्री खुला गरेका थिए । प्राथमिक सेयर निष्कासन गर्दा उनको कम्पनीले मागेभन्दा ५५ गुणा बढी रकम हालिएको थियो ।

भारत बाहिर व्यवसाय विस्तार गर्ने योजना बनाएका दिलीपले १९९७ मा अमेरिकी कम्पनी काराको फार्मा खरिद गरेका थिए ।
-स्रोत कान्तिपुर