गाईबाच्छाको उद्धार

काठमाडौँ, १ चैत । वनकालीस्थित मठमन्दिर गाई–बाच्छा बचाउ तथा समाज विकास अभियानले पाशुपत क्षेत्रमा छाडा छाडिएका थप दुई बाच्छी तथा तीन गोरु उद्धार गरेको छ ।

काभ्रेपलाञ्चोकका आरबी न्यौपानेले नेतृत्व गरेको सो संस्थाले फागुन २७गतेदेखि पुनः गौ उद्धार कार्यक्रम चलाएको छ । आजै स्थानीय गुह्येश्वरीमा एउटा बाच्छा मृतावस्थामा पाइएको संस्थाका सदस्य दामोदर सुवेदीले बताउनुभयो । भदौदेखि अभियानले स्थानीय मन्दिरवरपर खान नपाएर मर्न लागेका ती गाईबाच्छालाई संरक्षण गर्न आवश्यक खानेकुरा तथा औषधोपचारलगायत स्याहारसुसार गर्दै आएको संस्थाका सुवेदीले जानकारी दिनुभयो ।

पशुपति क्षेत्र विकास कोषले उपलब्ध गराएको सो स्थानमा अब कुल १६३ गाई–बाच्छा राखिएको छ । हिन्दू धर्मशास्त्रमा गाईलाई लक्ष्मीका रुपमा पूजा गर्ने चलन रहेको भए पनि विभिन्न कारणले सहरबजारमा गाई तथा बाच्छालाई छाडा छाड्ने गरेको पाइएको छ । गाईले दूध दिने समयसम्म घरमा पाल्ने तथा आवश्यक भएसम्म गोरु वा बाच्छालाई पनि जोत्ने कार्यमा प्रयोग गर्ने र त्यसपछि जथाभाबी छाड्ने प्रवृत्तिले गाई–बाच्छा अलपत्र परेका छन् ।

सुवेदीले उद्धार गरी संरक्षणमा राखिएका ती जनावरलाई दैनिक रु १६ हजारको खर्च व्यहोर्नुपर्ने अवस्था रहेको तर संस्थासँग अर्थ अभाव रहेको गुनासो गर्नुुभयो । रासस