‘अन्टार्कटिकामा नेपाली माटो’ भव्य प्रदर्शन

लुम्बिनी (रुपन्देही), २० फागुन । अन्टार्कटिका महाद्वीपमा पाइला टेक्ने पहिलो नेपाली भुवनसिंह विश्वकर्माको जीवनीमा आधारित ‘अन्टार्कटिकामा नेपाली माटो’ नामक वृत्तचित्र भैरहवामा भव्य प्रदर्शन गरिएको छ ।

मङ्गलबार भैरहवास्थित पद्यमाश्री चलचित्र मन्दिरमा प्रदर्शन गरिएको वृत्तचित्र कलेज तथा उच्चमाविका विद्यार्थी, साहित्यकार, विभिन्न कलेजका प्राचार्य, शिक्षक–शिक्षिकाले अवलोकन गर्नुभएको छ । वृत्तचित्रको दृश्यावलोकनपछि प्रतिक्रिया दिँदै प्राज्ञ बुँद रानाले सो वृत्तचित्र हेरिसकेपछि आफूलाई नेपाली भएकोमा गर्व लागेको बताउनुभयो ।

नेपालीले अवसर पाएको खण्डमा आफ्नो देशको शिर उँचो राख्न कुनै कसर बाँकी राख्दैन भन्ने साहसिक उदाहरण भुवन सिंहको कठिन अन्टार्कटिका यात्राबाट स्पष्ट हुने रानाले जनाउनुभयो । छ महिना दिन र ६ महिना पूरा रात हुने अन्टार्कटिकाजस्तो देशमा पुगी सिंहले नेपालको माटो र तामाको सिक्का त्यहाँ चढाएको देख्दा वास्तविक नेपालीपनको झझल्को आएको वृत्तचित्र हेरेपछिको प्रतिक्रियामा सिद्धार्थ साहित्य परिषद्का अध्यक्ष विजय सागरले जनाउनुभयो ।

सिद्धार्थ सामुदायिक सेवा केन्द्रका अध्यक्ष गोविन्द बस्यालले त उक्त वृत्तचित्र विज्ञान पढ्ने विद्यार्थीका लागि निकै उपयोगी हुने प्रतिक्रिया दिनुभयो ।

दर्शकले आफूप्रति देखाएको माया र प्रेरणाले आफूमा अझ उत्साह थपेको भुवन सिंह विश्वकर्माले बताउनुभयो ।

दलबहादुर गुरुङको लेखन, मनिष पन्थको निर्देशनमा तयार गरिएको वृत्तचित्र ३० मिटनको रहेको छ । रासस