पाकिस्तानमा भारतका ४५ माझी पक्राउ

कराची, २४ फागुन । पाकिस्तानको जलसेनाले भारतका ४५ जना माझी पक्राउ गरेको समाचार छ । कराचीमा पाकिस्तानी जलसेनाले पाकिस्तानी सीमा नाघेर आएको भन्दै भारतका ४५ जना माझी पक्राउ गरेको जनाएको हो ।

पाकिस्तानी सामुद्रिक सुरक्षा निकायले शुक्रबारै ती भारतीय माझीहरू पाकिस्तानी सामुद्रिक क्षेत्रमा आएको भन्दै पक्राउ गरिएको जानकारी दिएको छ ।

कराचीका एकजना स्थानीय प्रहरी अधिकारीले दिएको जानकारीअनुसार उक्त निकायले पाकिस्तान प्रहरीलाई ती माझीलाई जिम्मा लगाएको छ र आवश्यक जाँचबुझपछि उनीहरूलाई जेल पठाइने छ ।

पाकिस्तान र भारतका दुवैतर्फका सामुद्रिक सुरक्षा निकायले यसरी माझी पक्राउ गर्ने क्रम विगतका वर्षहरूदेखि नै निरन्तर रही आएको हो । रासस