बालुवा बेचेर मासिक १५ हजार कमाइ

भीमदत्तनगर, २ चैत । एक दशक अघि श्रीमान गुमाएकी भीमदत्त नगरपालिका–१३ पिपरियाकी शलोचनादेवी सोनाहा शनिबार दिउँसो महाकाली नदीमा अवस्थीत झोलुङ्गे पुलको उत्तरपट्टि बालुवा छानिरहेको अवस्थामा भेट्टिनुभयो ।
श्रीमानको निधनपछि उहाँको सिङ्गो परिवार विगत सात वर्षदेखि महाकाली नदीको बालुवा–गिट्टी र ढुङ्गाको भरमा बाँचेको छ । मध्याह्नको गर्मीमा महाकालीको मध्य भागमा कडा सङ्घर्ष गरिरहनुभएकी शलोचनाको सिङ्गो परिवार नै यतिखेर महाकालीमा मजदुरी गरिरहेको छ । “गिट्टी सङ्कलन गरिरहेकी छोरी निलमलाई देखाउँदै उहाँले भन्नुभयो, “दुई छोरी बालुवा, गिट्टी सङ्कलनमा छन्, दुई छोरा ढुवानी गर्ने ट्रकमा मजदुरी गर्छन् ।”

आफूहरु बालुवा, गिट्टी सङ्कलन गरेर दैनिक रु एक हजारसम्म कमाउने गरेको शलोचनादेवीले बताउनुभयो । “तीन दिन दिनभर खटिए एक÷एक ट्रली बालुवा र गिट्टी सङ्कलन हुन्छ ।” उहाँले भन्नुभयो, “बालुवा र गिट्टी बेचेर घर खर्च चलाउछौ ।”

“बर्खामा महाकाली नदीमा पानीको बहाव तिब्र हुन्छ ।” उहाँले भन्नुभयो– “हिउँदभर बालुवा र गिट्टी सङ्कलन गरेर वर्ष दिनको खानपिनको जोहो गछौं ।”

शलोचनादेवी जस्तै यतिखेर महाकाली नदीमा बालुवा र गिट्टी सङ्कलन गर्नेहरुको घुइँचो नै लागेको छ । पिपरियामा रहेको महाकाली नदीको झोलुङ्गे पुल उत्तरदेखि ब्रह्मदेवसम्म दैनिक तीनसयभन्दा बढी मानिसक बालुवा छान्न र गिट्टी सङ्कलनमा लागेका छन् ।

त्यसैगरी विगत एक महिनादेखि बालुवा छान्न र गिट्टी सङ्कलन गरिरहेका पिपरियाका डम्बर थापाले पनि मजदुरी गरेर कमाएको रकमले घर खर्च चलाउने गरेको बताउनुभयो । “कात्तिकदेखि महाकालीमा बालुवा, गिट्टी र ढुङ्गा सङ्कलन सुरु हुन्छ ।” उहाँले भन्नुभयो, “यो समय महाकाली छेउछाउका सर्वसाधारणका लागि रोजगारीको समय जस्तै हो ।”

यसरी बालुवा सङ्कलनमा पुरुषहरुभन्दा महिलाको सङ्ख्या दोब्बरले बढी खटिने गरेका छन् । “घरको कामको समयतालिका मिलाएर गिट्टी, बालुवा सङ्कलन गर्दैछु ।” पिपरियाकी विस्ना ठगुन्नाले भन्नुभयो, “परिश्रम कडा गरेपनि कमाइ थोरै छ ।” उहाँले श्रीमान मजदुरी गर्न भारत गएको र आफू
फुर्सदको बेला महाकालीमा ढुङ्गा, गिट्टी मजदुरीका लागि आउने गरेको बताउनुभयो ।

मजदुरी गरिरहेका प्रायः सबै सर्वसाधारणले घर खर्च चलाउनकै लागि काम गरिरहेको प्रतिक्रिया दिएका छन् । कतिपय सिङ्गो परिवारसहित बालुवा छानिरहेका भेट्टिनुभयो । उनीहरुले मासिक रु १५ हजारदेखि २० हजारसम्म कमाउने गरेका छन् ।

भीमदत्त नगरपालिकाको पिपरीयादेखि उत्तर ब्रह्मदेवसम्म स्थानीयवासी नदीमा बालुवा, गिट्टी र ढुङ्गा सङ्कलन गरेर बिक्री गरिरहेका छन् ।

जिल्ला विकास समिति कञ्चनपुरले सो क्षेत्रमा महाली नदीमा गिट्टी, बालुवा र ढुङ्गा सङ्कलनका लागि यस वर्ष रु डेढ करोडमा ठेक्कासमेत दिएको छ । जिल्लाका विभिन्न क्षेत्रबाट बालुवा, गिट्टी र ढुङ्गा खरिद गर्न व्यवसायी महाकाली नदी पुग्ने गरेका छन् । महाकालीबाट बालुवा, गिट्टी र ढुङ्गा खरिद गरेर ल्याउने व्यवसायी तथा सर्वसाधारणबाट रोयल्टी लिइन्छ । रासस