जापानमा नक्कली चिकित्सा अध्ययनको नाममा महिला लागुपदार्थको प्रभावमा बलात्कृत भए

टोकियो, २१ माघ । जापानमा एक सयभन्दा बढी महिलालाई एक चिकित्सा अध्ययनमा भाग लिने विश्वासमा पारी लागुपदार्थ खुवाइ यौनजन्य आक्रमण गरेको भनी एक पुरुषलाई प्रहरीले पक्राउ गरेको जानकारी अनुसन्धानकर्ता तथा स्थानीय आमसञ्चारले मङ्गलबार दिएका छन् । सुतेको समयमा रक्तचाप मापन गर्ने भनी चिकित्सा अध्ययनका लागि भनी प्रकाशन भएको विज्ञापनलाई आधार मानी दर्जनौँ महिलाले सन् २०१३ को नोभेम्बरसम्म दुई वर्षमा यस कार्यमा भाग लिएको अनुसन्धानकर्ताहरुले बताएका छन् ।

हिदेयुकी नोगुची नाम गरेका ५४ वर्षीय एक पुरुषले यी महिलालाई पीडाकम गर्ने औषधि दिने गरेको र उनीहरुलाई होटेल तथा पर्यटकीय क्षेत्रमा लगेको अनुसन्धानकर्ताहरुले विश्वास गरका छन् । यी महिला बेहोस भएपछि नोगुचीले उनीहरुलाई बलात्कार गर्ने गरेको र त्यसको चलचित्र बनाउने गरेको प्रहरीले जानकारी दिएको छ । यसपछि यस्तो भिडियोचित्र इन्टरनेटमा राख्ने वा अश्लील चलचित्र बनाउनेहरुलाई बिक्री गर्ने गरेको आरोप नोगुचीमाथि लगाइएको छ । यसरी नोगुचीले ८५ हजार अमेरिकी डलर कमाएको टीबीएस तथा अन्य प्रसारण संस्थाले उल्लेख गरेका छन् ।

वास्तवमा नोगुचीले चिकित्सासम्बन्धी कुनै तालिम नलिएको र उसलाई यस विषयमा केही पनि थाहा नभएको बताइएको छ । टोकियोको पूर्वी भागमा पार्ने चिबाका प्रहरी प्रवक्ताले टोकियो, चिबा, ओसाका, तोचिगी तथा सिजुओकाका बीस वर्षभन्दा कम तथा ४० वर्षसम्मका कम्तीमा ३९ महिला यसरी पीडित भएको पुष्टि भएको बताए । अनुसन्धानकर्ताहरुले नोगुचीले आक्रमण गरेका महिलाहरुमा यो निकै सानो सङ्ख्या भएको बताउँदै नोगुचीले १०० भन्दा बढी महिलामाथि यस प्रकारको अपराध गरेको आमसञ्चारले बताएका छन् । रासस