व्यवसाय गरी आत्मनिर्भर बन्दै एकल महिला

काठमाडौँ, १९ माघ । गुल्मीकी ६० वर्षीया शान्ति थापा एकल महिला (विधुवा)ले अनामनगरमा तरकारी बेचेर आफ्नो गुजारा चलाउँदै आउनुभएको छ । दस वर्षपहिले नै युद्धकालमा श्रीमान्को मृत्यु भएपछि त्यही तरकारी व्यवसाय गरेर उहाँले तीन सन्तानलाई लालन–पालन गर्नुभएको छ । त्यसैगरी श्रीमान्को मृत्युपछि टेम्पो सिकेर चलाउन सुरु गर्नुभएकी नवलपरासीकी कल्पना अधिकारीले त्यही कमाइबाट अहिले दुई छोरी र आफ्नो खर्च जुटाउनुभएको छ ।

यसरी सानोतिनो व्यवसाय वा जागिर गरेर आत्मनिर्भर बन्ने शान्ता र कल्पना उदाहरण मात्र हुन् । एकल महिला व्यवसायसँगै विभिन्न सिलाइबुनाइ र बाख्रापलान गरेर पनि स्वावलम्बी बन्दै गएका छन् । उनी जस्ता धेरै एकल महिला बदलिँदो समाज, पुरानो सोच, मान्यता र एकल महिलालाई हेर्ने दृष्टिकोणमा आएको क्रमिक परिर्वतनसँगै आत्मनिर्भर बन्दै गएका हुन् । “श्रीमान्को मृत्युपछि छोरीहरुको भविष्यका लागि भए पनि केही न केही काम गर्नुपर्ने वाध्यता भयो । त्यसपछि टेम्पो चलाउन सुरु गरेकी हुँ”–कल्पनाले भन्नुभयो ।

सुरुसुरुमा कतिपय आफन्तहरुले नै कुरा काट्न थाले पनि अहिले भने हेर्ने दृष्टिकोणमा परिवर्तन आएको उहाँको भनाइ छ । पछिल्लो जनगणनाअनुसार करिब ६ लाख एकल महिलामध्ये धेरै महिला आत्मनिर्भर बन्दै गएको पाइन्छ । अधिकारका लागि एकल महिला समूहका अनुसार ८० प्रतिशत एकल महिला निरक्षर छन् । २० प्रतिशत साक्षर छन् । एकल महिला समूहले विगत लामो समयदेखि एकल महिलाका लागि सरकारले छुट्टै बजेटको व्यवस्था गर्नुपर्ने, स्वास्थ्य, यातायातमा सरकारले विशेष व्यवस्था गर्नुपर्नेलगायत माग गर्दै आएका छन् । रासस