छन्द बचाऔँ

बागलुङ, २९ माघ । नेपाली कविता लेखनमा छन्दको प्रयोग घट्दै गएको छ । कविता परम्पराकै मूल संरचना शास्त्रीय छन्द सङ्कटोन्मुख छ ।

छन्दको प्रयोग घटेपछि लेखनको सांस्कृतिक मर्यादा मिचिने डर छ । २४० वर्ष अघिदेखि नेपाली कविता इतिहासमा शास्त्रीय छन्द सबैभन्दा कम प्रयोगमा छ । कविताको मूल गुण अर्थात् सुन्दरता नै हराउन थालेपछि भाषा, साहित्यका अध्येता चिन्तित छन् । मुक्त छन्दका रुपमा गद्य कविता लेख्ने प्रचलन हाबी हुँदै गएपछि छन्दको परम्परा घट्दै गएको हो ।

अभ्यास र चिन्तनको अभावमा छन्दमा कविता रचना झन् कठिन हुँदै गएको छ । कविता लयात्मक विधा भएको र लयसंयोजनका लागि कवितामा वार्णिक र मात्रिक छन्द जरुरत पर्ने बताइन्छ । शास्त्रीय या लोकछन्द दुवै नेपाली कविता लेखनमा प्रचलित छन्द हुन् । शास्त्रीय विधि र सूत्रमा बसेर लेखिने छन्दोबद्ध कविताको परम्परा नासिँदै जाने हो कि भन्ने चिन्ता व्याप्त छ ।

छन्द लेखनमा नयाँ पुस्ताको घट्दो रुचि र अभ्यासको कमीले यस्तो अवस्था सिर्जना भएको नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वसदस्य प्रेम छोटा बताउनुहुन्छ । परम्परागत छन्दको प्रयोगमा कमी आउनु चिन्ताको विषय भएको उहाँको धारणा छ । “साहित्यकै लोकप्रिय विधामा कविता पर्छ, त्यसमा पनि छन्दोबद्ध कविता लेखनको आफ्नै महिमा छ”–छोटाले भन्नुभयो । नियम र सूत्रको परिधिमा बाँधिएर लेख्नुपर्ने हुँदा छन्दमा लेख्नेको सङ्ख्या कम हुँदै गएको उहाँको तर्क छ ।

नेपाली कविता लेखनको परम्परामा अहिले मोटामोटी शार्दूलविक्रीडित, शिखरिणी, अनुष्टुप्, वसन्ततिलका, मन्दाक्रान्ता, मालिनी, स्रग्धरा, पञ्चचामर, इन्द्रवज्रा, तोटक, भुजङ्गप्रयात आदि छन्द प्रचलित छन् । छन्दको शास्त्रीय लयभित्र पनि करिब २०० जति सूत्र रहेको विज्ञ बताउँछन् । गद्यमा सरल र मुक्त स्वरुपमा कविता अभिव्यक्त गर्न सकिने भए पनि पद्यमा भने सके शास्त्रीय नै नभए पनि प्रायः अनुप्रासीय हुनुपर्ने बताइन्छ । छन्दलाई मानवीय जीवनशैली र संस्कृतिसँग पनि जोडेर हेर्ने गरिन्छ ।

“छन्द कविताको आफ्नै खालको शैली र वजन छ, यसले जनजीवनलाई छिटो प्रभाव पार्छ, यो सरल र सरस पनि हुन्छ”–नेपाली विषयका उपप्राध्यापक षडानन्द पौड्यालले भन्नुभयो । पश्चिमा साहित्यको बढ्दो प्रभावले नेपाली साहित्यको आधारभूत मर्म र शैली कमजोर बन्दै गएको उहाँको टिप्पणी छ । छन्दको कम अध्ययन÷अध्यापन र प्रशिक्षण हुनुजस्ता कारणले छन्द सङ्कटमा परेको पौड्यालले बताउनुभयो ।

शास्त्रीय छन्दको संरक्षण र प्रवद्र्धनका लागि विद्यालय तहदेखि नै पाठ्यक्रममा समावेश गरिनुपर्ने सुझाव उहाँको छ । अनुशासित र शिष्ट लेखन संस्कृति विकास गर्न पनि छन्दले सघाउने पौड्यालको भनाइ छ । एकाध भएका छन्दमा लेख्ने कवि पनि पाका–पुराना छन् । नयाँ पुस्ताका कवि प्रायः गद्य वा छन्दमुक्त कविता लेख्न लालायित छन् । धवलागिरि क्षेत्र पनि यस्तो प्रभावबाट मुक्त छैन । भानुभक्तकालीन समयमै बागलुङमा कविहरु भएको इतिहास छ ।

त्यसयता विकसित हुँदै आएको यहाँको कविता लेखन क्रम विभिन्न उतारचढाव पार गरेर अघि बढेको छ । बागलुङका छन्दकवि धनराज जिज्ञासु छन्दको प्रयोग घट्नु सुखद् नभएको बताउनुहुन्छ । सापकोटाजस्तै अत्यन्त न्यून सङ्ख्यामा छन्दमा कविता लेख्ने कवि यस क्षेत्रमा हुनुहुन्छ । छन्द कविता लेख्नेको सङ्ख्या तुलनात्मक रुपमा घटे पनि मेटिनै भने नलागेको उहाँको जिकिर छ ।

नयाँ पुस्तामा अभ्यासको कमी भएकाले शास्त्रीय छन्दको प्रयोग घट्नामा जिज्ञासु पनि सहमत हुनुहुन्छ । प्रगतिशील कवि मुकेशचन्द्र राजभण्डारी भने कविताको शास्त्रीय लेखन परम्परालाई जोगाउँदै नयाँ शैली र प्रवृत्तिको पनि प्रयोग गर्नुपर्ने तर्क राख्नुुहुन्छ । “छन्द कविताको जत्तिको स्थान छ उत्तिकै गद्य कविता पनि नेपाली साहित्यमा स्थापित छ”–राजभण्डारीले भन्नुभयो– “अभिव्यक्ति शैली, संरचना र विधानले फरक भए पनि कविताको शक्ति दुवैमा हुन्छ ।”

पछिल्लो समयमा धेरै कमले मात्र छन्दमा कविता लेख्ने गरेका छन् । जिल्लास्तरमा हुने प्रायः साहित्य गोष्ठीमा गद्य कविता नै हाबी हुने गरेको छ । छन्दोबद्ध कविता भने दुर्लभै जस्तो हुन थालेको छ । नेपाली साहित्यका सबै विधामा लेखन संस्कृतिको संरक्षण गर्नुपर्ने धारणा साहित्यकार छोटाको छ । कविताको शास्त्रीय लय अथवा छन्दको प्रयोगलाई बढाउन जागरण ल्याउनुपर्ने उहाँको तर्क छ । विसं २००७ को क्रान्तिपछि विदेशी साहित्यको अध्ययन, प्रकाशन जस्ता गतिविधिले पनि नेपाली साहित्यमा नयाँ प्रयोग भित्र्याएको मानिन्छ । सोको प्रभाव कविता परम्परामा पनि परेको कुरामा साहित्य प्रवद्र्धकहरु सहमत छन् । विसं १८३१ सालमा कवि सुवानन्ददासले लेखेको ‘पृथ्वीनारायण’ कविता नै अहिलेसम्म पाइएको नेपाली साहित्यको पहिलो कविता मानिन्छ । राजनीतिक चेतनास्तरमा आएको फेरबदलले पनि साहित्य लेखनमा नयाँ प्रयोगवादी शैली भित्रिन थालेका छन् । आदिकवि भानुभक्त आचार्य, कविशिरोमणि लेखनाथ पौड्याल, राष्ट्रकवि माधव घिमिरे जस्ता कविले पद्य कवितामा प्रसिद्धि कमाएका छन् । कवि गोपालप्रसाद रिमालले पहिलोचोटि गद्य कविताको सुरुआत गरेको इतिहास छ । आजको समयमा लेखन, प्रकाशन र परखको हिसाबले पद्य (छन्दोबद्ध) र गद्य (रबर छन्द) दुवै कविताका सशक्त रुप हुन् । छन्दको प्रवद्र्धनका निम्ति २०५३ सालदेखि कवि माधव वियोगी ‘छन्द बचाउ अभियान’मा सक्रिय हुनुहुन्छ । रासस