विपन्न महिला च्याउखेतीबाट जीविकोपार्जन गर्दै

बाँके (खजुरा), १३ फागुन । बाँके जिल्लाका विपन्न समुदायका महिला च्याउखेती व्यवसायवाट जीविकोपार्जन गरिरहेका छन ।
केवट समुदायका महिला च्याउखेतीबाट जीविकोपार्जन गर्दै आएका हुन । उनिहरुले साँझ–बिहानको जोहो मात्र नभै आप्mना छोराछोरीलाई विद्यालय पढाउनेसम्मको खर्च च्याउखेतीबाटै जुटाउँदै आएका छन् ।

जिल्ला कृषि विकास कार्यालय र अन्य सङ्घसंस्थाले आयआर्जनका लागि सीपमुलक तालिम र प्राविधिक सहयोग उपलब्ध गराएपछि केवट समुदायका महिलाले समूह गठन गरी व्यावसायिक रुपमा च्याउखेती सुरु गरेका हुन ।

आर्थिकस्थिति कमजोर भएका उनीहरुलाई व्यावसायिक च्याउखेतीले घरको समस्या टार्न सजिलो छ । बचत पनि गर्न सफल भएको पर्वत महिला लघुउद्यम समूहकी कलावती केवटले बताउनुभयो ।

नेपालगन्ज उपमहानगरपालिका–१७ बुलबुलियाकी सोनी केवट चार जना छोराछोरीलाई च्याउखेतीबाट आर्जन गरेको कमाईले पढाउँदै आएको बताउनुहुन्छ ।

‘‘श्रीमान्ले मजदुरीले छोराछोरीको शुल्क तिर्नं धौ धौ परिरहेको थियो’’ उहाँले भन्नुभयो । च्याउखेती सुरु गरेपछि उहाँले अहिले सबैलाई सहजै पढाउन सक्नुभएको छ ।

जिल्ला कृषि विकास कार्यालय र जिल्ला लघु उद्यम समूहले बीउ, ड्रम तथा प्राविधिक सहयोग गरेपछि विपन्न समुदाय च्याउ खेतीतर्फ आकर्षित भएको हो । उनीहरुले उत्पादन गरेको च्याउ नेपालगन्जमै खपत हुने गरेको छ ।

जिल्ला कृषि विकास कार्यालय बाँकेले बेरोजगार युवालाई कृषि पेशामा लगाउन यो वर्ष मात्र झन्डै रु दुई करोड लगानी गर्दैछ । त्यसमध्ये च्याउखेतीका लागि ४८ जना युवालाई छनौट गरी रु १६ लाख रकम वितरणको तयारी गरेको कार्यालयले जनाएको छ । रासस