एकै गाविसबाट रु एक अर्बको मखान बिक्री

जनकपुरधाम, २२ माघ । एउटै गाविसका किसानले मखान बिक्री गरी करिब रु एक अर्ब आम्दानी गरेका छन् ।
मखानको पकेट क्षेत्र मानिने महोत्तरी जिल्लाको मटिहानी गाविसका किसानले वार्षिक यति परिमाणको मखान बिक्री गरी आर्थिक लाभ लिएका हुन् । मटिहानी गाविसमा एक सयभन्दा बढी घरपरिवारले नजिकको तालतलैया र पोखरीमा मखानखेती गरी रु एक अर्ब मूल्यबराबरको मखान उत्पादन गरेको यसको खेतीमा संलग्न किसान कमलेश सहनीले बताउनुभयो ।

उद्योग वाणिज्य सङ्घ मटिहानीका अनुसार मखान खेतीमा संलग्न किसानले अघिल्लो वर्ष दुई सय हेक्टर क्षेत्रफलमा मखान खेती गरी रु एक अर्ब मूल्यबराबरको एक सय मेट्रिक टन मखान उत्पादन गरेका थिए ।

यस गाविसमा रहेका सहनी जातिका किसान परापूर्वकालदेखि मखानको व्यावसायिक खेतीमा संलग्न छन् । ती किसानलाई प्रोत्साहन दिन नेपाल सरकार, लघु घरेलु तथा साना विकास कोष, नेपाल उद्योग वाणिज्य महासङ्घले रु एक लाख ५० हजार खर्च गरी २० जना किसानलाई मखान प्रशोधनसम्बन्धी तालिम दिएका छन् । वैदेशिक रोजगारका क्रममा खाडी मुलुक गएका युवाबाहेक गाउँमा रहेका बूढापाकाले गाउँमै प्रयोगविहीन तालतलैया, पोखरीमा मखान खेती गरी राम्रो आर्थिक लाभ लिएको देखेका किसान विन्देश्वर सहनीले आउँदो वर्ष यसको खेती विस्तार गर्ने सोच बनाएका छन् ।

उत्पादित मखान स्थानीय बजार, जनकपुर र काठमाडौँसम्म मात्र सीमित छ र किसानहरु सरकारले यसको बजार विस्तार गर्न सहयोग गरोस् भन्ने चाहन्छन् ।

किसानलाई प्रोत्साहन गर्न सरकारले सुलभ ऋण तथा अन्य सुविधा सहयोग दिनुपर्ने माग मटिहानी उद्योग वाणिज्य सङ्घका अध्यक्ष मोहनप्रसाद गुप्ताको रहेको छ । उहाँले पछिल्लो समय मखानको माग वृद्धि हुन गएको भए पनि यस खेतीलाई विस्तार गर्नेतर्फ सरकारको ध्यान नगएको बताउनुभयो ।

व्यावसायिक मखान खेती गर्दै आउनुभएका तेजनारायण सहनीले भन्नुभयो – “आयआर्जनका लागि बिदेसिने युवालाई यही पनि काम गरेर कमाउन सकिन्छ भन्ने सन्देश दिन हामीले सामूहिक रुपमा मखान खेती गर्न लागेका हौँ ।”

स्थानीय बजारमा मखान प्रतिकिलो रु ६०० मा बिक्री हँुदै आएको छ । रासस