बलात्कारको अभियोगमा नेपाली विद्यार्थी जेलमा

नयाँदिल्ली ,१५ फाल्गुन । जवाहरलाल नेहरू विश्वविद्यालय (जेएनयू) का पीएचडी शोधार्थी नेपाली विद्यार्थी प्रमोद जयसवाल यौन दुर्व्यवहार अभियोगमा जेल परेका छन्। महिला सहप्राध्यापकले प्रहरीमा उजुरी दिएपछि अदालती आदेशमा जयसवाललाई बुधबार तिहाड जेलमा लगिएको हो। नेपाल, चीन र भारतको त्रिपक्षीय सम्बन्धबारे पीएचडी अध्ययन सकेर गत सोमबार मात्रै शोधपत्र अन्तर्वार्ता (भाइवा) समेत पूरा गरेका जयसवालमाथि महिला सहप्राध्यापकले ‘बिहे गर्ने सर्तमा बलात्कार गरेको’ आरोप लगाएकी छन्।

अर्कातिर, पीएचडी शोधपछि जेएनयू होस्टल बाहिर बस्दै आएका जयसवालले गत साता युनिभर्सिटी पि्रन्सिपल कार्यालयमा सहप्राध्यापकविरुद्ध उजुरी दिइसकेको स्थानीय मिडियाले जनाएका छन्। सहप्राध्यापकले आफूसँग ‘बिहे गर्न अनावश्यक प्रपञ्च रचेको’ भन्दै पीएचडी सकेर आफू घर र्फकन चाहेको जयसवालले उजुरीमा उल्लेख गरेका छन्।

वसन्तकुञ्ज उत्तरी थाना प्रहरीमा उजुरी परेपछि जयसवाललाई मंगलबार राति ११ बजे डेराबाट पक्राउ गरेर प्रहरी कार्यालय लगिएको जयसवालसँगै कोठामा बस्ने विद्यार्थी सर्वर रजाले कान्तिपुरलाई बताए।

विभिन्न विचारक समूह र प्राज्ञिक निकायमा क्षेत्रीय राजनीति तथा नेपाल-भारत सम्बन्धका आयाममा प्रवचन दिने जयसवाल इन्स्िटच्युट अफ पिस एन्ड कन्फिट स्टडिज (आईपीसीएस) मा नियमित स्तम्भकार छन्। उनी जेएनयूमा दक्षिण एसियाली अध्ययन केन्द्र सम्बद्ध रहेर शोधकार्य गर्दै आएका थिए। आरोप लगाउने सहप्राध्यापक जेएनयूको पूर्वी एसियाली केन्द्रअन्तर्गत चिनियाँ भाषा पढाउँदै आएकी थिइन्।

दिल्लीस्थित नेपाली विचारक समूहमा परिचित जयसवालको पक्राउबारे परराष्ट्र मन्त्रालयले ध्यानाकर्षण गराएपछि नेपाली दूतावासले यसबारे सम्बद्ध प्रहरी प्रशासनमा जिज्ञासा राखेको थियो। दूतावासका काउन्सेलर राजेन्द्रमान श्रेष्ठका अनुसार वसन्तकुञ्ज प्रहरीले जयसवाललाई बुधबार दिउँसो पटियाला अदालतमा उपस्थित गराएको र अदालती आदेशअनुसार अपराह्न न्यायिक हिरासतमा रहने गरी तिहाड जेल चलान गरिएको हो। न्यायिक हिरासतमा कम्तीमा तीन महिनाको अनुसन्धान चल्ने र त्यसपछि मात्रै थप न्यायिक प्रक्रिया अघि बढाउन सकिने उनले बताए।