लोकनेता र चैतेजनता – होमर श्रेष्ठ

खबरडेस्क,२ फागुन ।

लघुकथा

त्यो आमसभामा इतिहासमै धेरै मानिस वैरिएका थिए। टुँडिखेलको खुलामञ्चमा नअटाएका श्रोताहरू रत्नपार्कतर्फ कोचिँदै थिए। वीरअस्पालका कौसीमा, छेउछाउका घरका छतमा, अकासेपुलमा र सडककिनारका रुखका हाँगा-बिँगामा समेत चढेर मान्छेहरू हेर्दै थिए। धोजा-पताका, पोस्टर-पम्प्लिट र ब्यानरहरूले खुलामञ्च नयाँ दुलहीझैँ सिँगारिएको थियो। ठाउँठाउँमा राखिएका ध्वाङहरूमा कार्यक्रमका पूर्वउद्घोषहरू गुञ्जिदै थिए। मञ्चमा आसिन उपर्खुट्टी नेताहरू कानेखुसी गर्दै, सेल्फी खिच्दै, हरियो दाँत ङिच्च पार्दै अट्टहास गर्दै थिए। फोटो-पत्रकारहरू नेताका दाँत र नाकका तस्बीर खिच्दै थिए। हनुमाने कार्यकर्ता बुर्लुक्क उफ्र्यो र लोकनेताको कानमा खुसुक्क भन्यो: ‘अब त हजुरकै आँखाले जनसागर उर्लेको देख्यो होला नि! मैले बारंबार भनेकै थिएँ तर हजुरले पत्याइसेको थिएन—हजुर रातारात अतिलोकप्रिय होइसेको छ! अब बालुवाटारको सिंहासनमा चढ्ने पालो पक्कापक्की हजुरको! अनि त ‘म’…! तब यो नेपाल स्वर्ग बन्न कति बेर!  

khulamancha

हनुमानको कुरोले लोकनेतालाई औडाहा भयो; बालुवाटारको दिवास्वप्न देख्यो; घुत्लुक्क थुक निल्यो। नेताले मनको दुई-चार कुरा नभन्न सकिरहेको थिएन, तर त्यो हनुमानले मात्र सुनोस् भन्ने चाहन्थ्यो। उसले जिब्रो नफट्कारी ओठले बोल्यो: “भुसतिघ्रे बजिया, तेरो मुखमा दूध र भात! ‘तँ’विना ‘म’ कसरी हुन सक्छु र! तर तँ छुचो र छुस्के छस्— ठाउँ-कुठाउँ बकबक गरिरहन्छस्! तँ स्वाँठ छस्! तैँले यो भीडलाई चिनेकै छैनस्! यहाँ मान्छे कम, भेडा धेरै छन्! यी चैते-बतास हुन्। यिनले हाम्रो कर्तुत बुझे भने चुनावी-सुनामी हुन बेर लाउँदैनन्! भोलि यही टुँडिखेलमा मलाई सुली चढाउने हल्ला चलोस् त! यिनै जनता सिटी बजाउँदै तमासा हेर्न आउनेछन्। तैपनि यी अतिशोभनीय छन्। लोकतन्त्रमा यिनले दिने आशिर्वाद देउताले पनि दिन सक्तैन! केवल त्यसको लागि यिनलाई मान्नुपर्छ। गोप्य! हेहेहे…”

हनुमानको खोपडीमा कुरो बिझेछ क्यारे, टाउको हल्लाउँदै खितखित हाँस्यो। आफ्नो कुरो हनुमानले बुझेको देखेर नेताजी पनि हाँसे। दुबै जना पेट मिचीमिची हाँसे।

त्यो गोप्य अट्टहास माइकमा गुञ्जिरहेको लोकप्रिय नेतालाई पत्तै थिएन— भीडले परर ताली पड्काएको सुनेपछि नेताजी झस्के! र, मञ्चमा आसिन नेताहरू पनि अट्टहास गरे! नेताहरू खित्का छाडेको देखेर जनता पनि अट्टहास गर्न थाले! जनता अट्टहास गरेको देखेर नेताहरू खित्का छोड्दै थिए। त्यो अन्योन्याश्रित अट्टहास खुलामञ्चमा प्रतिध्वनित भइरहेको थियो!

साभार – होमर श्रेष्ठ फेसबुक