कालोधन छानबिनमा सरकार उदासिन

सल्यान, १० फागुन । संविधानसभाअन्तर्गतको अर्थ समितिका सभापति प्रकाश ज्वालाले स्वीस बैंकमा नेपालीले जम्मा गरेको भनिएको रकम छानबिन गर्न सरकार गम्भीर नभएको बताउनुभएको छ । सरकारले छानबिन प्रक्रियालाई नै अघि नबढाएर लाचारीपन देखाएको प्रेस चौतारी नेपाल सल्यानले आज खलङ्गामा आयोजना गरेको पत्रकार भेटघाटमा उहाँले धारणा राख्नु भयो ।
समितिले छानबिन गरेर सत्यतथ्य सार्वजनिक गर्न निर्देशन दिँदा पनि सरकार कानमा तेल हालेर बसेको छ सभापति ज्वालाले भन्नु भयो ।

स्वीस बैंकमा राखिएको सम्पत्ति कालो धन भए राज्यले जफत गरी विकास निर्माणमा लगाउनुपर्ने उहाँको भनाइ रहेको छ । “बैंकमा राखिएको सम्पत्ति सेतो नै हो भने सफाइ दिनुपर्छ यदि कालो रहेछ भने विकास निर्माणमा सदुपयोग गर्नुपर्छ”, ज्वालाले भन्नुभयो ।

यसअघि अर्थ समितिको बैठकले गभर्नर, सम्पत्ति शुद्धीकरण विभाग र अर्थ मन्त्रालयका सचिवसँग छलफल गरी स्वीट्जरल्यान्डको एचएसबिसी बैंकको रकम छानबिन गर्न सरकारलाई निर्देशन दिएको थियो । रासस