साढे पाँच करोडभन्दा बढी ऋण लगानी

इलाम, १९ पुस ।

जिल्लाकै सबैभन्दा ठूलो सहकारी संस्थाका रूपमा परिचित शताब्दी बचत तथा ऋण सहकारी संस्थाले रु पाँच करोड ७४ लाख ६८ हजार ऋण लगानी गरेको छ ।

जिल्लाभर कार्यक्षेत्र बनाएको यस संस्थाले कृषि उत्पादन, व्यापार, घरजग्गा कारोबार, हायरपर्चेज, वैदेशिक रोजगार र शैक्षिक क्षेत्रमा उक्त ऋण लगानी गरेको हो ।

संस्थाले कृषि उत्पादनमा रु ३२ लाख, ३५ हजार ५०० व्यापारमा रु दुई करोड ४० लाख २६ हजार, घरजग्गा तथा आवासमा रु दुई करोड पाँच लाख, हायरपर्चेजमा रु ४० लाख ३३ हजार, वैदेशिक रोजगारमा रु आठ लाख ३० हजार र शैक्षिक क्षेत्रमा रु पाँच लाख ५० हजार ऋण लगानी गरेको जनाएको छ ।

आर्थिक वर्ष २०७२÷०७३ का लागि रु नौ करोड ११ लाख ४८ हजार ७५८ को प्रस्तावित आय व्यय विवरण प्रस्तुत गरेको छ । १२ आंँै साधारणसभा तथा १५ आँैं वार्षिकोत्सवका अवसरमा चालु आवका लागि प्रस्ताव गरिएको रु आठ करोड २८ लाख ४४ हजार ५२५ पारित गरेको छ ।

संस्थाको वार्षिकोत्सवमा प्रवेशिका परीक्षामा सबैभन्दा बढी अङ्क ल्याउने सामुदायिक तथा निजी विद्यालयमा अध्ययनरत सेयर सदस्यका छोराछोरीलाई पुरस्कृत गरिएको छ । पुरस्कृत हुनेमा सामुदायिक विद्यालयतर्फ भगवती माविकी छात्रा प्रविना कटुवाल, निजीतर्फ हेरिटेज नेसनल एकाडेमीकी प्रशंसा थापा र ग्रिनभ्याली एकाडेमीका साहिल ओझा रहेका छन् ।

त्यस्तै संस्थाका व्यवस्थापक भोलानाथ पौडेललाई उत्कृष्ट कर्मचारीको रूपमा पुरस्कृत गरिएको छ ।

सबैभन्दा बढी सेयर सदस्य र कारोबार रहेको यस संस्थाले पाँचजनालाई उत्कृष्ट ऋणी, चारजनालाई एम्बुलेन्स सुविधा प्रदान गरेको छ । संस्थाले ७० वर्ष उमेर पार गरेका सेयर सदस्यलाई सम्मान गरेको छ ।

एक हजार ११६ जना सेयर सदस्य रहेको संस्थामा ७५८ जना मासिक, ४९९ जना दैनिक, २२ जना आवधिक, १५७ बाल बचतकर्ता रहेका छन् । रासस