सातै महादेशका उच्चहिमालको आरोहण गरी नेपाली महिला टोलीको कीर्तिमान

(कालिका खड्का)

काठमाडौँ, २६ पुस । सात नेपाली चेलीलाई विश्वका सातैवटा महादेशका सर्वोच्च हिमशिखरमा पाइला टेक्न सफलता मिलेको छ ।

समावेशी टोलीलाई ती हिमशृङ्खला आरोहणको सफलतासँगै हिमाल आरोहणको क्षेत्रमा एउटा नयाँ कीर्तिमान कायम गर्ने सफलता प्राप्त भएको छ । यसले नेपालको गौरब बढाएको छ । विश्वमा नेपालीको चिनारीमा अर्को पहिचान थपेको छ । त्यसो त विश्वमै नमुनाका रुपमा रहेको नेपाली झन्डाले समेत ती चुुचुरामा फहराउने अवसर सँगै प्राप्त गरेको छ । समावेशी महिला आरोहण टोलीले साताँै पर्वतका रुपमा अन्टार्टिकाको ‘भिन्सन म्यासिफ’ को आरोहण सम्पन्न गरेर आज नेपाल फर्केका छन् ।

साताँै हिमालको कान्छी आरोही नीमाडोमा शेर्मा, माया गुरुङ र पेमादिकी शेर्पाले सफल आरोहण गरेका छन् । डिसेम्बर २३, २०१४ मा आरोहण सम्पन्न गरेको टोलीका संयोजक शैली बस्नेत, आशाकुमारी सिंह र पुजन आचार्यले भने आर्थिक कठिनाइका कारण आरोहणमा भाग लिएनन् । उनीहरुसँग आरोहणका लागि रु दुई करोड मात्र थियो तर सबैले आरोहण गर्न रु चार करोड आवश्यक थियो । २०६५ सालमा विश्वको सर्वाेच्च शिखर सगरमाथाको सफल आरोहणबाट सुरु भएको यात्रा समावेशी महिलाले अव पूरा गरेका छन् ।

womensummiters

सगरमाथाको आरोहणपछि उनीहरुले अस्टे«लियामा रहेको कोजिअस्को हिमाल, युरोपको एलबु्रस हिमाल, अफ्रिकामा रहेको किलिमान्जारो, दक्षिण अमेरिकाको अकन्कागुवा हिमाल, उत्तर अमेरिकाको डेनाली पर्वतको सफल आरोहण गरिसकेका छन् । उनीहरुले आरोहण गरेका सबै हिमाल ती महादेशका सबैभन्दा उच्च हिमशिखर हुन् ।

आरोहण टोलीका संयोजक शैली बस्नेतले विश्वका सातैवटा उच्च शिखर आरोहण गर्न पाउँदा गौरवान्वित महसुस भइरहेको अनुभव सुनाउनुभयो । आरोहण टोलीका सदस्य पेमादिकी शेर्पाले अन्टार्टिकामा माइनस ३० डिग्री सेल्सियस तापक्रममा निकै सङ्घर्ष गरेर सफलता पाएको बताउनु भयो । सातौँ हिमाल चढ्दाको नयाँ अनुभव सुनाउँदै उहाँले भन्नुभयो–“अन्टार्टिकामा हिउँमा पनि गाडी चल्दो रहेछ, हिउँमा गाडीमा बसेर घुम्दा रमाइलो लाग्यो ।”

हरेक देशको हावा, पानी, मौसम, फरक–फरक भएकाले हिमाल आरोहण गर्नु चुनौतीपूर्ण काम भए पनि समावेशी रुपमा हिमाल चढ्न पाउँदा र नेपालको नाम विश्वमा फैलाउन पाउँदा खुसी लाग्छ आरोही नीमाडोमा शेर्पालाई ।

अर्की आरोही आशाकुमारी सिंहको फरक अनुभव छ । कम विकसित देशमा थोरै लगानी गरेर पनि आवश्यक सहयोग पनि पाइन्छ, तर विकसित राष्ट्रमा लगानी पनि बढी र सहयोग पनि कम पाएको महसुस भएको छ, उहाँ भन्नुहुन्छ ।

विकसित देशहरुमा हिमाल संरक्षण गर्ने तरिका राम्रो लागेको स्मरण गर्दै आरोही माया गुरुङले भन्नुभयो –“विकसित देशमा हिमालमा फोहोर फाल्ने चर्चित आरोहीलाई पनि कारबाही गर्ने गरेका छन्, हाम्रो देशमा पनि त्यो व्यवस्था हुनु आवश्यक छ ।”

‘शिक्षा, वातावरण र सशक्तीकरण’ भन्ने नारा लिएर पर्वत आरोहण सुरु गरेका समावेशी आरोहीलाई धेरै जना एकैपटक चढ्दा साथमा साथ र आँट मिलेको अनुभव छ । सामूहिक रुपमा आरोहण गर्दा आर्थिक चुनौती भने सदैव रह्यो ।

यी पर्वत आरोहण गर्दा लगभग रु १० करोड लाग्यो । त्यसमध्ये सबैभन्दा बढी अन्टार्टिकामा रु दुई करोड लाग्यो । अब समावेशी आरोहीको पर्वत आरोहणको एउटा सङ्कल्प पूरा भयो । आगामी दिनमा उनीहरुको हिमाल आरोहण गर्न गाइडका रुपमा तथा तालिम दिनेलगायतका काम गर्ने योजना छ । विदेशमा पनि आफूहरुलार्ई गाइडका लागि अवसर आएको उनीहरु बताउँछन् । रासस