विश्व सम्पदा सूचीमा अझै परेन खोकना

ललितपुर, पुस २२ । पुरात्तत्व विभागले खोकनालाई विश्व सम्पदामा सूचीकृत गर्न आधारसहितको अध्ययन प्रतिवेदन तयार गरेको १७ वर्ष भइसक्दा पनि अझैं सूचीमा परेको छैन। विभागले मल्लकालीन बस्ती र तेल मिललाई प्रमुख आधार बनाएर प्रतिवेदन तयार गरेको थियो। तर, अझै पनि सूचीकृत नहँुदा खोकनावासीले सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्। विभागले भने स्थानीयवासीले बिग्रेका घरहरूलाई परम्परागत शैलीमा निर्माण नगर्दा ढिलाइ भएको हुन सक्ने प्रतिक्रिया दिएको छ। ‘स्थानीय बासिन्दाले चासो लिएर बिग्रेका केही घरलाई परम्परागत ढाँचा ढाल्नुपर्छ, खोकना सम्पदामा सूचीकृत हुने सम्भावना छ,’ पुरात्तत्व विभागका प्रवक्ता रामबहादुर कुँवरले भने। चारैतिर हरियाली फाँटका बीचमा रहेको खोकना मल्लकालीन नेवार बस्ती हो। झिंगटीले छाएको माटाका घरहरूको एकरूपता र एक-आपसमा जोडिएर सरल रेखामा रहेको बस्ती अहिले पनि उस्तै रहेको स्थानीय बासिन्दाहरू बताउँछन्। स्थानीय संस्कृतिकर्मीहरूका अनुसार स्वस्तिक आकारको यस बस्तीका बासिन्दाको रहनसहन, परम्परा र रीतिरिवाज १५औं शताब्दीको एउटा जीवित संग्रहालय हो।

khokana

कार्यविनायक नगरपालिकामा पर्ने खोकनामा नेपालको पहिलो फर्पिङ जलविद्युत् आयोजनाबाट ल्याइएको लाइनबाट पहिलोपल्ट बत्ती बालेको घरसमेत छ। बस्तीको चारैतिर बाटो, ठाउँ-ठाउँमा चोक, मन्दिर, पाटीपौवा, ढुंगेधारा, इनार र बीचमा तीनतले इन्द्रायणीको मन्दिर छ। अझ खोकना तोरीको तेलका लागि प्रख्यात मानिन्छ। अहिले पनि यहाँ पुरानै शैलीमा कोलबाट तेल निकालिन्छ। तत्कालीन खोकना गाविस अध्यक्ष मदनकृष्ण डंगोलले विश्व सम्पदामा सूचीकरण गर्न ०५४ मा गाउँ परिषद्ले निर्णय गरी अघि बढेकोमा ०५९ मा गाविस जनप्रतिनिधिविहीन बन्दा योजना अलपत्रमा परेको बताए। ‘त्यतिबेला द्वन्द्व पनि चर्कियो,’ उनले भने, ‘५० प्रतिशत युनेस्को र बाँकी ५० प्रतिशत स्थानीयवासीको खर्चमा घर पुनर्निर्माण गर्ने योजनासमेत बनिसकेको थियो।’

-स्रोत कान्तिपुर