आइएसको जापानीलाई अर्काे शर्त

टोकियो, १३ माघ । जापानले इस्लामिक स्टेटद्वारा पक्राउ गरिएका आफ्ना नागरिकलाई मुक्त गर्नका लागि जोर्डन सरकारसँग मिलेर काम गरिरहेको बताइएको छ । इस्लामिक अतिवादी आइएसले अपहरण गरेका आफ्ना एकजना नागरिकको हत्या गरिसकेको र अर्का नागरिकलाई पनि हत्या गर्ने धम्की दिएकोले जापान सरकारले आफ्ना नागरिकलाई मुक्त गर्नका लागि जोर्डन सरकारमार्फत पहल गरेको हो ।
एकजना जापानी सरकारी अधिकारीले सो बारेमा जानकारी दिएका समाचारमा जनाइएको छ । ती अधिकारीले जोर्डनमार्फत सो पहल सुरु गरेका बताइएको छ ।
अपहरणमा रहेका जापानी नागरिक पत्रकार हुन् । त्यस्तै उनीसँगै एकजना जोर्डनी नागरिक पनि अपहरणमा रहेका छन् । जोर्डनी नागरिक विमानचालक हुन् । सो समूहले जापान सरकारसँग २० करोड अमेरिकी डलर फिरौती मागेका थिए । जापान सरकारले सो फिरौती रकम दिन नमानेपछि उनको हत्या भएको थियो । जापानी पत्रकारको रिहाईका लागि उक्त इस्लामिक समूहले फेरि माग परिवर्तन गरेको छ । उसले ती पत्रकारको जीवन बचाउने हो भने जोर्डनको जेलमा रहेका आफ्ना सदस्यलाई रिहा गर्नुपर्ने शर्त अघि सारेका छन् ।

जोर्डनी जेलमा आइएसका एकजना सदस्य साजिदा अल रिसवाईलाई थुनेर राखिएको छ । उनको रिहाई गरेपछि मात्र जापानी पत्रकार केन्जी गोतोलाई छोडिने सो समूहले पछिल्लो माग गरेको छ । यसअघि जापानी नागरिकको हत्याको भिडियो सार्वजनिक गरेको आइएसले ती जापानी पत्रकारको रिहाइका लागि जोर्डनी जेलमा रहेका आफ्ना सदस्यलाई मुक्त गर्नुपर्ने माग सहितको अर्काे भिडियो सार्वजनिक गरेको छ ।
आफ्ना नागरिकको रिहाइका लागि पहल गर्न जापानी उपविदेशमन्त्री योसिहिदे नाकायामा जोर्डन जानुभएको छ । उहाँले त्यहाँका राजा अब्दुल्लाहलाई भेटगरी सो विषयमा कुराकानी गर्नुभएको थियो ।

जोर्डनी राजा अब्दुल्लाहले जापानी पत्रकार गोतोको रिहाईका लागि जोर्डन सरकारले सक्दो सहयोग गर्ने भन्दै यसका लागि विश्वस्त रहन जापानलाई आग्रह गर्नुभएको जापानी विदेश मन्त्रालयले मङ्गलबार प्रकाशन गरेको विज्ञप्तिमा जनाइएको छ ।
तर जापानी सञ्चारमाध्यमहरुले भने जोर्डन सरकार आफ्नै नागरिकको रिहाइका लागिमात्र पहल गरिरहेको जनाएका छन् । तर जापानी सरकारले त्यसको खण्डन गरेको छ ।

जापान सरकारले जोर्डनसँग यस विषयमा समन्वय गरिरहेको जानकारी दिएको छ । उसले जोर्डनले आफ्नो तथा जापानी नागरिकको पनि रिहाइका लागि आवश्यक मात्रामा सहयोग गर्ने बचन दिएको उपविदेशमन्त्री नाकायामाले बताउनुभयो । रासस