चार करोड कर सङ्कलन

इलाम, १७ पुस ।

करदाता सेवा कार्यालय इलाममा चालु आर्थिक वर्षको छ महिनामा रु तीन करोड ९३ लाख २६ हजार ९६३ कर सङ्कलन भएको छ ।

कर कार्यालयमा चालु वर्ष ०७१÷७२ को साउन महिनादेखि पुस महिनाको १६ गतेसम्म उक्त कर सङ्कलन भएको हो ।

जसमा करदाताले कार्यालयमा आएर बुझाएको कर ९२ लाख ५० हजार ९७१ रुपैयाँ रहेको छ । बैंकमार्फत जम्मा हुन आएको राजस्व रु तीन करोड ७५ लाख ९९ हजार २६० रहेको कर दाता सेवा कार्यालय इलामले जनाएको छ ।

ilam-Bazaar

कर बुझाउन कर दाताले रु १० हजारसम्म कार्यालयमा आएर बुझाउने गर्छन् भने दश हजारभन्दा माथिका कर दाताले बैंकमार्फत रकम जम्मा गर्ने गरेको कार्यालयले जनाएको छ ।

यता मिसम्याचमा परेका ६९ जना कर दातामध्ये अहिलेसम्म ३४ जनालेमात्र कर बुझाएको कार्यालयले जनाएको छ ।

मिसम्याचमा परेका कर दातालाई कार्यालयले पुस मसान्तसम्म आयकरमा २ प्रतिशत र भ्याटमा ३ प्रतिशत गरी ५ प्रतिशत विशेष छुट दिएको कार्यालयले जनाएको छ ।

इलाममा अहिलेसम्म ५०० को हाराहारीमा करदाता भ्याटमा गइसकेका छन् भने अन्तःशुल्कमा पनि ५०० को हाराहारीमा रहेको जनाइएको छ ।

मिसम्याचमा परेका कर दातालाई कार्यालयले छुट दिएपछि अहिले कार्यालयमा कर बुझाउनेको भीड लाग्न थालेको छ । इलाममा करदाता सेवा कार्यालय र दुईवटा बैंकमार्फत कर सङ्कलन हुने गर्दछ । रासस